
फाइल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
अनुसन्धान हेर्दा ‘भद्दा मजाक’ जस्तो देखिएको उनको टिप्पणी थियो । साथै सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरे पनि सलाइको काँटीजति पनि नपड्किएको उनले टिप्पणी गरेका थिए । शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंका पनि व्यक्त गरेका थिए ।
‘जुन आशा र अपेक्षाका साथ अनुसन्धानको समय गरियो, त्यो अनुसन्धानका कुराहरु हेर्दा भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब तीन दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाइको काँटी जति पनि पड्किएन,’ लामिछानेले भनेका छन् ।
यस प्रकरणमा नाम जोडिएका व्यक्तिहरूले नियमित प्रयोग गर्ने फोन नदिएर अन्य फोन अनुसन्धान टोलीलाई दिएको खबर सार्वजनिक भएको स्मरण गराउँदै उनले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । यस क्रममा राजनीतिक हस्तक्षेप भएको पनि आशंका उनले व्यक्त गरेका थिए ।
यस्तै गृहमन्त्रीले पार्टीको दबाब थेग्न नसकेका हुन् कि भनेर पनि उनले आशंका व्यक्त गरेका थिए । सांसद लामिछानेले भनेका छन्, ‘जति पनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ?अथवा पार्टीभित्रको दबाब तपाइँले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्यो । अनुसन्धानले सुनपानी छर्किने काम भएको महसुश भएको छ । जति पनि सत्तारुढ दलका मानिसहरुको नाम आएको छ, ती नामहरुमा गहिरोसँग अनुसन्धान नै भएन । सीआईबीको क्षमतामा मलाई अहिले पनि प्रश्न छैन । मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि, प्रभावमा पारे कि भन्ने लागेको छ । कयौं अनुसन्धान अपुरो भयो । अपुरो अनुसन्धान भएपछि अदालतले गर्ने आदेश आलोचित हुन्छ ।’