सिंहदरबार प्रवेशमा ‘क्यूआर कोड’ पास लागू गरिने

कार्यालय समयमा सर्वसाधारणको भीडले काम गर्नै नसक्ने अवस्था सिर्जना भएको सचिवका गुनासा

दियो पोस्ट  

काठमाडौं । अनुमति नै नलिई अनावश्यक रुपमा सेवाग्राही प्रवेश गरेर मन्त्रालयहरुमा भीड बढाएको गुनासो आएपछि सिंहदरबार प्रवेशका लागि क्यूआर कोडसहितको गेटपासको व्यवस्था गरिने भएको छ ।

सचिवहरुले कार्यालय समयमा सर्वसाधारणको भीड लागेर कामै गर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो गरेपछि मुख्यसचिव वैकुण्ठ अर्यालले सञ्चार तथा सूचना प्रविधि एवं गृह मन्त्रालयलाई आपसी समन्वय गरेर क्यूआर कोडसहितको पासको व्यवस्था मिलाउन भनेका हुन् । उनले ‘केन्द्रीय सचिवालय सिंहदरबारमा गेट पास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था मिलाउन गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकमा उद्योग सचिव मधुकुमार मरासिनीले आफ्नो मन्त्रालयमा कामै नभएका सेवाग्राही प्रवेश गरेर भीडभीड बढाएको बताएका थिए । उनले मन्त्रायमा ह्वारह्वार्ती मान्छे आउने प्रसंग जोड्दै यसबाट काम गर्न अप्ठ्यारो भएको बताएका थिए प्राविधिक आवश्यक प्रक्रिया अघि बढाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले बताए । अहिले सौद्धान्तिक रुपमा मात्र निर्णय भएकाले अब सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने बताए । नियमित बैठकमा मरासिनीबाहेकका सचिवले पनि अनावश्यक मान्छे आउने र सचिवसँव फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेको बताएका थिए । एक सचिवले भने, ‘फोटोकै कारण सचिवले अनावश्यक रुपमा बदनामी कमाउनुपर्ने घटना भएका छन् ।’

सिंहदरबारमा सर्वसाधारणको काम कमै हुने भन्दै सचिवहरुले एक जनाको काम गराउन लाइन लागेर तीन–चार जना आउने गरेको बताए । सचिव मरासिनीले भेटघाटका लागि आउनेले समय माग नगरी आउने भएकाले मन्त्रालयको काम गर्ने समयमा गफगाफमै बिताउनुपर्ने अवस्था रहेको बताए । खासमा चिनाजानी र राजनीतिक पहुँच भएकाहरु समय नै नलिई सचिवको कोठामा छिरेर घण्टौ बिताउने गरेका छन् । सचिवहरुले पनि सोही विषय उठाएका थिए । अहिले भित्रबाट आएको नामका आधारमा नागरिकता वा अन्य परिचयपत्र देखाएर सिंहदरबार छिर्न सकिन्छ । प्रवेश सहज भएपछि भीड बढेको सरकारी ठम्याइ छ ।

‘सघीयताको कुरा गरेका छौ, गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा छ । तर सिहंदरबारकै भीड भने घटेको छैन,’ मुख्यसचिव कार्यालयका एक अधिकारीले भने । संघीय मन्त्रालयमा त झन् जहिल्यै भीड लाग्ने गरेको छ ।

आजको कान्तिपुर पत्रिकामा खबर छ ।