अभियान्ता ईः र बालेनबीच जुहारी !

दियो पोस्ट  

काठमाडौं । गत असोज १ गतेदेखि प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह अगाडी ईः ईः सामाजिक अभियान्ताहरु निरन्तर उभिएर बालेनविरुद्ध आन्दोलनरत छन् । उनै अभियान्ताहरुले बालेनले नगर प्रहरी लगाएर थर्काएका छन् ।

ईः ईः अभियन्ताहरुले सोमबार सामाजिक सञ्जालमै मेयर शाहलाई जवाफ दिँदै नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन् ।

मेयर शाहले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप लगाएपछि सामाजिक अभियन्ता ईः ले आफूहरुलाई थर्काउने काम भएको बताएका हुन् ।

‘मेयर यहाँ आउनु भएको होइन । जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन् । करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए।’ अभियान्ता ईःले लेखेका छन्, ‘हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन ।’

यसअघि पनि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको मेयर बालेन शाहसँग भेट गर्न खोज्दा समय नपाएको खुलाएका छन् । थापाले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभागृहबाहिर छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईःलगायतका साथीका बारेमा महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको बताएका छन् ।

महामन्त्री थापाले इःलगायतले उठाएको फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागमा समर्थन समेत जनाएका छन् । उनले सँगै बसेर कुरा गरेपछि एक अर्काको मत र दृष्टिकोण बुझेपछि एउटा उपाय निस्कने समेत बताएका छन् ।

तर यता मेयर बालेन्द्रले भने आफैं वार्ता गर्न तयार रहेको बेला अभियन्ताहरु सम्पर्कमै नआएको आरोप लगाएका छन् । उनले अभियान्ताहरु राजनीतिक दलसँग जोडिएको आशंका गर्दै सो आरोप लगाएका छन् ।

‘विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिइरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ । यहाहरुको कुरा र समस्या सुनौँभन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन’, मेयर बालेनले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने ?’