काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

दियो पोस्ट  

तुलसीपुर । दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।