‘फ्री भिसा’ र ‘फ्री टिकट’ खारेजी

कामदारसँग म्यानपावरले एकलाख उठाउन पाउने

दियो पोस्ट  

काठमाडौं । सरकारले ‘फ्री भिसा’ र ‘फ्री टिकट’लाई अप्रत्यक्ष रुपमा खारेजी गरेको छ । २०७२ साल असारदेखि वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकट लागु भएको थियो । फ्री भिसा र फ्री टिकट कार्यान्वयमा नै नगई अथवा कामदारले सुविधा नै नलिई श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले खारेजी गरेको हो । फ्री भिसा र फ्री टिकट लागू भएका देश वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीहरुले एक लाखसम्म लागत खर्च लिन पाउने श्रम मन्त्रालयले निर्णय गरेको छ । तर यो सूचना भने मन्त्रालय बाहिर ल्याएको छैन ।

गत भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १३ वटा मुख्य रोजगारदाता देशका नेपाली राजदूत समेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको थियो । उक्त निर्णयमा फ्री भिसा फ्री टिकटको विकल्पमा म्यानपावर कम्पनीले एक लाख रुपैयाँ लागत लिने पाउनेसमेत निर्णय भएको श्रम मन्त्रालयको स्रोतले जनाएको छ ।

फ्री भिसा फ्री टिकट भएको देश जाने कामदारसँग आगामी दिनमा म्यानपावर कम्पनीले एक लाख सम्म लागत खर्च लिन पाउने निर्णय भएको श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार फ्रि भिसा फ्रि टिकट नाममा मात्र लागू भएको थियो । फ्रि भिसा फ्री टिकटका नाममा म्यानपावर कम्पनीले कामदारलाई ठगी गर्दै करसमेत छली गर्दै आएका थिए । प्रधानमन्त्रीले फ्रि भिसा फ्रि टिकटको विकल्प खोज्दा हुन्छ भन्ने सन्देश दिएपछि यो सुविधा श्रममन्त्री खारेजी गर्न सकारात्मक भएको उनले जानकारी दिए ।

‘म्यानपावरले फ्री भिसा र फ्री टिकट दिने कम्पनीसँग कामदारको एक महिनाको तलब लिन पाउनेछन् । यो सुविधा नदिने कम्पनी भएमा रोजगारीमा जाने कामदारसँग एकलाख रुपैयाँ म्यानपावरले लिन पाउँछन् । ‘उनले भने, ’फ्री भिसा र फ्री टिकटको विकल्प धेरै अगाडि नै खोज्न लागिएको थियो । तर, कामदारमा नकारात्मक सन्देश जाने डरले यो निर्णय रोकिएको थियो । हाल प्रधानमन्त्रीकै अध्यक्षतामा भएको बैठकबाट निर्णय भएपछि श्रममन्त्रीले पनि सहमति गरेको हो ।’

सरकारले फ्रि भिसा र फ्री टिकट (निःशुल्क) लागू गरेकै देश जाने कामदारले म्यानपावर कम्पनीलाई चर्को रकम तिरिरहेका छन् ।

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।

सिफारिस