उपचारको अभावमा किरण बन्द कोठमा

छोरा देश निम्ति सहिद भयो केही दुःख छैन, मानसिक रोगी नातिको आर्थिक अभावमा उपचार गर्न नसक्दा मन दुखेको छ ।

दियो पोस्ट  

काठमाडौं । “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन तर मानसिक रोगी नातिको उपचार गर्न नसक्दा छाती भतभती पोलेर आउँछ र मन भारी हुन्छ ।” यो भनाई ६० वर्षीय बमबहादुरको हो ।

खप्तडछाना गाउँपालिका–३, बझाङ थाप्लीकोट घर भएका रावलले यति बेला सहिद भएका छोरालाई झलझली सम्झने गरेका छन् । मानसिक रोगले एक वर्षदेखि बन्द कोठा भित्र थला परेका २१ वर्षका नाति किरण रावलको अवस्था दयनीय छ । मानसिक रोगी नातीको कसैले उपचार गरिदिन्छन् कि भनेर उनी सबैले सबैको आश गरेका छन् ।

व्यवस्था परिवर्तनका निम्ति छोरो सहिद भयो । बुहारी अर्कैसँग विवाह गरेर गइन् । सानो एक नाति र नातिनीलाई बाजे र बजैले संरक्षण गर्दै आएका छन् । उनले भने, “नातिनीले विवाह गरेकी छिन् । नाति मानसिक रोगको बिरामी भएकाले एक वर्षदेखि बन्द कोठाभित्र थुनेर राख्नु परेको छ । उपचार गर्ने पैसा छैन, नातिलाई उपचारमा सहयोग गरिदिने घरमा कोही मान्छे पनि छैन ।”

६० वर्ष उमेर काटेका बमबहादुरले आफूले भोगेका दुःखकष्ट पीरमर्का नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री कर्णबहादुर विक (केशव) लाई भावुक हुँदै सुनाएका थिए । बाजुरा घर भएका विक जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बझाङ पुगेका थिए । खप्तडछाना गाउँपालिकाको मान्डसमेत रहेका विकले आर्थिक अभावमा उपचार नपाएर ती युवक बिचल्ली भएको बताए ।

सहिद परिवारको सदस्यको मानसिक रोगको उपचार हुन नसकेको थाहा पाउनेबित्तिकै म घरमा भेट्न गएको थिएँ, २१ वर्षका किरण रावल बन्द कोठाभित्र एक्लै थिए उनले भने, “किरणको बाजे बजैको स्वास्थ्य अवस्था पनि कमजोर रहेको मैले पाएँ ।”

उनका छोरा रामजन रावल जनयुद्धमा होमिएर सहिद बनेको जानकारी माओवादी केन्द्रका नेता विकले दिए । छोरा देशका निम्ति सहिद भयो केही दुःख छैन, मानसिक रोगी नातिको उपचार गर्न नसक्दा मन दुखेको दुखेसो उनले पोखे ।

स्वास्थ्य उपचारका लागि आफु पनि लागि परेको र सहयोगको लागि तीनै तहका सरकार र मानवीय मन भएका सबैसँग सहयोगका लागि विकले आग्रहसमेत गरेको बताए । खप्तडछाना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले किरण रावल मानसिक रोगी भई उपचार गर्न नपाएको बताए । उनको र मेरो गाउँ उकै ठाउँ हो । अहिलेसम्म किरणको अवस्थाबारे मलाई कसैले जानकारी गराएको छैनन् उनले भने,“उनका बारेमा बुझेर स्थानीय सरकारले आवश्यक सहयोग गर्छ ।”

आजको गोरखापत्र पत्रिकामा खबर छ ।