काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको म.प्र.०४–००१ ज.००६२ नम्बरको गाडी आज बिहान ७ः५० बजेतिर आफैँ अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरू सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका–५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा रहेका छन् । साथै सिन्धुलीकै कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं.६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका–६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाकारी दिए । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।