काठमाडौं । सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्ट उद्योगमा रहस्यमयी रुपमा २ ट्रकभन्दा बढी चुरोट जलाइएको पाइएको छ । शंकर समुह, अम्बे समुह र हुलास समुहको संयुक्त लगानी रहेको यो उद्योगमा मार्लब्रो नामक ब्राण्डको एक ट्रक चुरोट रहस्यमयी रुपमा जलाइएको छ भने अन्य चुरोट मजदुरहरुले नियन्त्रणमा लिएका छन् ।
स्रोतका अनुसार नक्कली अन्तशुल्क स्ट्रिकर लगाएका ती चुरोटहरु जलाएर कम्पनिका मालिकहरु ठूलो अपराधबाट भाग्ने कोशिसमा छन् । शंकर अग्रवाल, साहिल अग्रवाल र सुलभ अग्रवाल लगायतले संचालन गरेको सौर्य सिमेन्टमा शंकर समुहकै लगानी रहेको टोबाकोबाट उत्पादित उक्त चुरोटमा नक्कली अन्त शुल्क स्ट्रिकर लगाएको विषयमा राज्यकै निकायहरुले सुचना पाएपछि सेटिङमा रातारात जलाइएको स्रोतले जनाएको छ ।
मजदुरहरुले कब्जामा लिएको चुरोट सार्वजनिक गर्न पत्रकारलाई समेत खबर गरेका थिए । तर, कुनै पनि पत्रकार त्यहाँ उपस्थित नभएपछि प्रहरीलाई उक्त चुरोट बुझाइएको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी पञ्चकुमार बारखुका अनुसार मजदुरहरुले नियन्त्रणमा लिएको दुई कार्टुन चुरोट प्रहरीले सुरक्षित रुपमा राखेर राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी छ ।
‘मजदुरले नियन्त्रणमा लिएको खबर आएपछि हामी त्यहाँ गयौँ र सुरक्षित रुपमा प्रहरीले लिएर आएको छ । केही स्याम्पल निकालेर हेर्दा त्यहाँ अन्तशुल्क स्ट्रिकर देखिएका छन्,’ उनले भने,‘राजश्व अनुसन्धान विभागका अधिकारीहरुलाई सम्पर्क गरेर थप तथ्य पत्ता लगाउने छौँ । किनकी हामी त्यो निकाय होइनौँ जसले राजश्व अनुसन्धान गर्छ ।’