लाइन्स क्लव अफ बुटबल युथद्वारा ‘नेपाल अपाङ्ग आश्रम’मा खाद्यान्न बितरण

Rita Budhathoki  

रीता बुढाथोकी, बुटबल । हिन्दु महिलाहरुको महान चाढ हरितालिका ‘तीज’को अवसर पारेर ‘लाइन्स क्लव अफ बुटबल युथ’ले ‘नेपाल अपाङ्ग आश्रम’प्रगति नगरलाई खाद्यान्न बितरण गरेको छ । बुटबलस्थित अपाङ्ग आश्रमको भवनमा आज आयोजित एक कार्यक्रमका बीच खाद्यान्न बितरण गएिको हो ।

‘मानव सेवा’मा समर्पित यस क्लवले ‘हङ्गर रिलिफ सर्भिस’ कार्यक्रम अन्र्तगत खाद्यान्न बितरण गरेको कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष सुर्य पाण्डेले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका डिस्ट्रिक गर्भनर पुरुषोत्तम भक्त प्रधानाङ्गले मानवीय आवश्यकतालाई परिपूर्ती गर्ने संस्थाको मुल उदेश्य रहेको जानकारी दिँदै संस्थाले अन्य मानव सेवामा समर्पित कार्यहरु गर्दै आएको बताउनु भयो । उहाँले संस्थाले नेपाल अपाङ्ग आश्रमलाई बिगतमा पनि सहयोग प्रदान गर्दै आएको र यही सहयोगको निरन्तरता स्वरुप तीजको अवसर पारेर खाद्यान्न बितरण गरिएको बताउनु भयो । गर्भनर प्रधानाङ्गले ‘सेवा नै धर्म’ हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आफुहरु अघि बढेको र संस्थाले पछिल्लो समय वातावरण, भुकम्प तथा अन्य प्राकृतिक प्रकोपका समयमा समेत सधै अगाडी रहेर मानव सेवाका क्षेत्रमा काम गरिरहेको जानकारी दिनु भयो ।

सो अवसरमा प्रथम भ्वाइस डिस्ट्रिक गर्भनर बालाराम भट्टराईले अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्थानीय सरकार तथा राज्यले चासो नदेखाएको भन्दै राज्यका काम र कर्तब्य प्रति प्रश्न गर्नु भयो । उहाँले राज्यको अनुभुति गर्न नपाएका आम ‘भुइँमान्छे’ भनिनेहरुका बीचमा संस्थाले काम गर्दै आइरहेको बताउनु हुँदै आपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष मोतिलाल काफ्ले अपाङ्ग आश्रम बिभिन्न आर्थिक तथा खाद्यन्न समस्याबाट गुज्रिरहेको बताउनु भयो । उहाँले आश्रमलाई दाल, चामल, आलु, नुन तेल, प्याज, बिस्कुट तथा साबुन लगायत खाद्यान्न बितरण गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले ‘लाइन्स क्लव अफ बुटबल युथ’ले पटक–पटक सहयोग गर्दै आएको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाँले सबैको सहयोगका कारण आश्रममा बस्दै आएका अपाङ्गता भएका ब्यक्तिहरुले दुई छाक खान पाएको भन्दै सहयोगका लागि सबैमा अपिल समेत गर्नु भयो ।

लाइन्स क्लव स्थापनाको एक सताब्दी पुरा गरेको सबै भन्दा पुरानो संस्था हो । यस संस्थाले सुरुवाती चरणमा आँखाका क्षेत्रमा काम गरेको भएता पनि पछिल्लो समय बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।