काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत एक छात्रालाई सोही क्याम्पसमा अध्ययनरत आफ्नै साथीहरुले जातीय रुपमा अपमानित गरेको आरोप लागेको छ । यही भदौ १० गते क्याम्पसमा परिक्षा फारम भर्न गएकी दुर्गा नेपालीलाई अखिल क्रान्तिकारी पद्मकन्या इकाई समितिकी अध्यक्ष तिर्सना आले मगर र पूर्व अध्यक्ष स्मृति चापागाईले अत्यन्तै तुच्छ शब्द प्रयोग गर्दै जातीय दुर्व्यवहार गरेको आरोप छ ।
पीडित नेपाली आफै पनि अखिल क्रान्तिकारी पद्कन्या इकाई समितिको सह–सचिव हुन् । तर, आफ्नै संगठनका साथीहरुले बिना कारण आफ्नो नाम सह–सचिव पदबाट हटाएको भन्दै उनले असन्तुष्टि ब्यक्त गर्दै आइरहेकी थिइन् । सोही बिषयलाई लिएर भदौ १० गते क्याम्पसमै भनाभन भएको र भनाभनका क्रममा आले र चापागाईले नेपालीलाई दलित भन्दै अपमान र दुर्व्यवहार गरेको पीडित नेपालीले बताइन् ।
संगठनको सानो बिवादको बिषयमा ‘जात’ छोएर गाली गरेको उनी बताउँछिन् । भन्छिन्, ‘त्यो दिन म एक्लै थिएँ । मलाई देखेर उनीहरु दुबै जना म भएतिर आए । मलाई ट्वाइलेट छेउमा लगेर दुबै जनाले गाली गर्न थाले । गाली मात्रै गरेनन्, मेरो मुखमा औँला कोच्याएर मलाई बोल्नै दिएनन्,’ उनले भनिन् ।
झगडाका क्रममा आले मगरले ‘हामीसंग दलित पारा देखाउने होइन । तँ दलित भएर दलितकै ठाउँमा बस् । हामी तँजस्ता दलितहरुलाई पानी खुवाउँदै हिँड्ने मान्छे हौँ’ भन्दै आफुलाई अपशब्द प्रयोग गरेको पीडित नेपालीले दियोपोष्टलाई बताइन् ।
आफु २०७३ सालदेखि संगठनमा सक्रिय रुपमा काम गर्दैै आएको भएता पनि आले मगर अध्यक्ष भएदेखि आफ्नो अबमुल्यन भएको उनी बताउँछिन् । बिगतदेखि अध्यक्ष आले मगरले मनमर्जी गर्दै आएको उनको भनाई छ ।
यता, अध्यक्ष तिर्सना आले मगरले भने आफुले त्यसो नगरेको बताउँदै आएकी छिन् । संगठनको बिषयमा सामान्य भनाभन भई बिवाद उत्पन्न भएको तर जातीय रुपमा गाली गलौच भने नगरेको उनी बताउँछिन् ।
आफुलाई झुटो आरोप लगाएको भन्दै आले मगरले त्यसको खण्डन गरेकी छन् । ‘म त्यस्तो बोल्ने मान्छे नै होइन । संगठनको हितमा काम गर्न खोज्दा मलाई झुटो आरोप लगाइएको हो,’ उनले भनिन् ।
दुर्गालाई संगठनबाट किन निकालियो त ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म तीन वर्षदेखि अखिल क्रान्तिकारी पद्मकन्या इकाइको अध्यक्ष पदमा छु । तीन वर्षदेखि संगठन चलायमान थिएन । दुर्गा जि पनि लामो समयसम्म सम्पर्कमा आउनु भएन । त्यसैले संगठनको बिधान अनुसार हामीले उहाँलाई बर्खास्त गर्नु परेको हो ।’
दुर्गा नेपालीलाई संगठनबाट बर्खास्त गरेपछि नयाँ बनाइएको कार्यसमितिमा दलित समुदायबाटै प्रतिनिधित्व गराइएको उनले बताइन् ।
अखिल क्रान्तिकारीकै एक सदस्यका अनुसार अध्यक्ष आलेमगरले आफ्नै मनमर्जीले बिना कारण दुर्गा नेपालीलाई पदबाट बर्खास्त गरेको बताइन् । बिधान अनुसार दुर्गालाई बर्खास्त गरेको भनिएता पनि बर्खास्त गर्ने त्यस्तो कुनै आधार नभएको उनले प्रष्ट पारिन् ।
आफ्नै साथीबाट आफु अपमानित हुनु परेको भन्दै पीडित नेपालीले न्यायका लागि कानुनी बाटो रोज्ने बताएकी छन् ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज बिश्वकर्माले यस बिषयमा सत्य तथ्य छानबिन गरि पीडकलाई कानुनी दायरामा ल्याउने बताए । उनले पढेलेखेका ब्यक्तिहरुबाटै दलित समुदायमाथि अपमान हुँदै आएको भन्दै पद्मकन्या क्याम्पसमा भएको उक्त घटनाको घोर भ्रत्सना गरे ।
पद्मकन्या क्याम्पस महिला मात्रैले अध्ययन गर्ने त्रिभुवन बिश्वविद्यालयको पहिलो आंगिक क्याम्पसका रुपमा चिनिदै आएको छ । यसअघि पनि सोही क्याम्पसमा अध्ययनरत कालीकोटकी दन्ता नेपालीलाई नेबिसंघकी रुपा पोखरेलले जातीय गाली गलौज गरेका कारण उनी प्रहरी हिरासतमा बस्नु परेको थियो ।