काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ समादीमा रहेको सीजी सिमेन्ट उद्योगमा गएको भदौ ११ गते मेसिन सफा गर्ने क्रममा १ जना कामदारको ज्यान गयो । मेसिनमा पेलिएर कामदारले ज्यान गुमाउनुपरेको घटना चानचुने विषय होइन । यो घटनालगत्तै ज्यान गुमाएका कामदारका आफन्त र त्यहाँ काम गर्ने अरु कामदारले विरोध प्रदर्शनसमेत गरे ।
विरोध प्रदर्शनले उद्योग परिसर केही समय तनावग्रस्तसमेत बन्यो । तर, यो घटनालगत्तै सीजी सिमेन्ट उद्योग र उनका मालिक विनोद चौधरी यो प्रकरणलाई लुकाउने खेलमा देखिएका छन् । सुरुमा घटनालाई नै बाहिर नल्याउने प्रयास भयो, त्यो सफल हुन सकेन । नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीले यो घटनाले आफूलाई निक्कै ठूलो असर गर्ने देखेर नै पीडितका परिवारलाई केही रकम दिएर मुख बन्द गराउने प्रयास गरेका छन् । कानुनी झमेलाबाटसमेत उन्मुक्ति पाउने रणनीतिमा दौडधुप सुरु गरेका छन् ।
घटना के हो ?
आफ्नो र परिवारको पेट पाल्नकै लागि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का ४६ वर्षका दिनेश शर्मा केही वर्षअघि पाल्पासम्म पुग्छन् । त्यसैक्रममा उनले सीजी ग्रुपले संचालनमा ल्याएको सिजी सिमेन्ट उद्योगमा ज्याला मजदुरी गर्ने काम पाउँछन् । दिनेश र त्याहाँ काम गर्ने उनका साथिहरुलाई उद्योगमा रहेका कुन मेसिनमा कस्ता समस्या छन् भन्ने रामैसँग अवगत थियो । बेलाबखत मेसिन जाम हुने गथ्र्यो । सफा नगरे अर्को ठूलो समस्या भोग्नुपर्ने भएकोले उनै शर्मासहितका मजदुरहरुले त्यसमा ध्यान दिँदै आईरहेका थिए ।
गएको भदौ ११ गते उद्योगका लागि आवश्यक पर्ने कोइला टुक्र्याउन प्रयोग हुने मेशिन सफा गर्न अरु साथिहरुसँगै दिनेश पनि मेसिनभित्र पस्छन् । मंगलबार राती ९ः४५ बजे मेशिन बन्द भएको अस्थामा दिनेशसहित तीनजना कामदार मेशिनको पंखा सफा गर्न भित्र पसेका थिए ।
दिनेश र उनका एकजना साथि मेशिनभित्र पसे भने राति भएकोले अर्का एकजना मेसिनमा उज्यालो देखाउन टर्च बालेर सहयोग गरे । शर्मा तल्लो भागमा थिए भने अर्का एकजना माथिल्लो भागमा सफा गर्दै थिए । सरसफाई चल्दै गर्दा एक्कासी मेशिन चल्न थाल्छ । एक्कासी मेशिन चलेको चाल पाएपछि माथिल्लो भागमा बसेर टर्च लाईल बालिरहेका मजदुरले हातको सहायताले बिचमा रहेका मजदुरलाई तानेर ज्यान बचाउन सफल हुन्छन् । तर मेसिनको तल्लो भागमा रहेका दिनेश भने त्यहाँबाट उम्कन सक्दैनन्, मेसिनमा पिसिन पुग्छन् ।
घटना लगत्तै उनका आफन्त र अरु कामदारले उद्योगको लापरबाहीका कारण ज्यान गएको भन्दै विरोध जनाउँछन् । उनीहरुको आन्दोलनका कारण उद्योग परिसर तनावग्रस्त बन्न पुगेको थियो । त्यहाँका स्थानीय जनप्रतिनिधिलेसमेत उद्योगको लापरबाहीले कामदारको ज्यान गएको निष्कर्ष निकालेका छन् । प्रहरीमा दिनेशका साथिले दिएको बयानमा पनि यो घटना कम्पनीको लापरबाहीले भएको भनिएको छ । शवको पहिचान नै गर्न नसकिनेगरी मेशिनमा पिसिएर दिनेशले ज्यान गुमाउनुपरेको घटनालाई सिजी ग्रुपले अहिले लुकाउने प्रयत्न गरिरहेको छ । घटना लुकाएर उन्मुक्ति पाउने प्रयासस्वरुप उद्योगले सरोकारवाला निकायसँग सेटिङ गरिरहेको छ । विनोद चौधरीको शक्तिको आडमा उद्योगलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ ।
२० लाखमै किनियो मजदुरको शव
यो घटनामा कम्पनीको लापरबाहीले एकजना मजदुरको हत्या भएको छ । घटनाको जिम्मेवारी चौधरी ग्रुप एवम् स्वयं उद्योगका मालिक विनोद चौधरीले लिनुपर्ने हो । तर, सामान्य कामदार मेसिनमा पेलिएको घटनालाई विनोद चौधरी र उसको नेतृत्वमा रहेको सीजी सिमेन्ट उद्योगले घटना नै मान्न खोजिरहेका छैनन् । सत्ता र शक्तिको बलमा टेकेर चौधरी ग्रुपले मजदुरका परिवारलाई समेत थोरै रकम दिएर फकाउने प्रयास गरेको देखिन्छ । पीडित परिवारलाई २० लाख रुपैयाँ दिएर घटना सामसुम पार्ने प्रयास भएको छ ।
दिनेशका परिवारले पनि उनीहरुको कुरा सुनेर कुनै कानुनी प्रक्रिया अघि बढाएको अवस्था छैन । अभाव र गरिबीसँग खेलेर उद्योगले दिनेशको शवलाई उनको परिवारसँग २० लाख रुपैयाँमा खरिद गरेको भनेर अहिले विरोध हुन थालेको छ । जुनसुकै समयमा अरु कामदारसमेत सिजी सिमेन्ट उद्योगमा रहेका अरु कामदारको हकमासमेत जे पनि हुन सक्छ । तर, भइपरी आउने घटनालाई अन्देख ागर्दै यसैगरी कामदारको शवलाई २० लाखमा किन्ने खेलमा चौधरी ग्रुप लागिपरेको देखिन्छ । २० लाख रुपैयाँमै परिवारलाई मनाउन सफल सिजी सिमेन्ट उद्योगले अरु थुप्रै कानुनी झमेलाबाट उन्मुक्ति पाउनका लागिसमेत आवश्यक दौडधुप गरिरहेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसको पनि बलियो सहभागिता छ । प्रहरी प्रशासन त झनै कांग्रेस नेता रमेश लेखककै नेतृत्वमा छ ।
अर्थात गृहमन्त्री रमेश लेखकसम्म नै यो घटनालाई सामसुम पार्ने विषयमा चरणबद्ध रुपमा छलफल भएको चर्चा छ । कांग्रेस सांसद विनोद चौधरीले यो घटनालाई कानुनी प्रक्रियामा नलगेर सामसुम पार्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लेखक र कांग्रेस सभापति शेरबहादुरको तहसम्म नै पुर्याएका छन् । कुनै समय प्रधानमन्त्री ओलीसँग पनि नजिक भएर राजनीतिक गतिविधि गरेका विनोदले आफ्नै कम्पनीमा भएको घटनालाई लुकाउन या उन्मुक्तिका लागि सबै निकायसँग समन्वय गरिदिन हारगुहार गरिरहेको विषय बाहिरिएको छ ।
शव पिसिएको सिमेन्ट नै बजार आउँदै
मेसिनमा पिसिएका दिनेश शर्माको शव त्यहाँ रहेका मजदुरहरुलेसमेत देख्न पाएनन् । उनको रगत र मासुसहित पिसिएर बनेको सिमेन्ट बोरामा प्याक भईसकेको छ । भर्टिकल रोलिङ मिल (भिआरएम) प्रविधिमा आधारित सिजी उद्योगको क्षमता दैनिक २९ सय ५० टन हो । अहिले कम्पनीले ओपिसी र पिपिसी सिमेन्ट गरेर दैनिक २८ सय टन उत्पादन गर्दै आईरहेको छ । मृतक शर्माको मासु र रगतले लतपतिएको क्लिङकर फाल्दा उद्योगले ठुलै नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।
तर, त्यो घाटा व्यहोर्न असमर्थ सिजी ग्रुपले त्यहि दिनेश शर्माको शरीर मिसिएको सिमेन्ट बजारसम्म पठाउने तयारी गरेको छ । उनै दिनेश शर्मा पेलिएर बनेको क्लिङकर प्रयोग गरेर निर्माण गरिएको सिमेन्टलाई बेचेर पैसा कमाउने प्रयत्न कम्पनीले गरिरहेको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा सिजी ग्रुपका कसैले पनि प्रतिक्रिया दिन चाहेनन् ।
प्रहरीको मुचुल्का नै शवको सबुत
मृतक दिनेश शर्माका परिवारले प्रहरीको मुचुल्का हेरेर नै चित्त बुझाएको छ । दिनेशका दाई गोपाल शर्माका अनुसार परिवारले शव देख्न पाएनन् भने प्रहरीको मुचुल्का हेरेर चित्त बुझाउनुपर्ने परिस्थिति बन्यो । घटना भएको १ घण्टापछि उद्योगबाट परिवारलाई फोन गएको थियो । दिनेशका दाई गोपाल भन्छन्, ‘घटना भएकै दिन राती ११ बजेतिर फोन आएको रहेछ । त्यो फोन भाउजुले उठाउनु भयो । भाउजुलाई उनीहरुले दाई बिरामी भएकाले अस्पताल भर्ना गरेका छौँ तपाईहरु चाडो आउनुहोला भनेका रहेछन् । तर पछि भाउजुले गोपालको नम्बर दिएपछि घटनाबारे जानकारी दिइएको उनले बताए ।
‘म यति राति टाढाको बाटो कसरी आउने ? एक त महिला मान्छे भनेपछि उनीहरुले घरमा कोही पुरुष आफन्त मान्छेको नम्बर दिनुस भनेर मागेका रहेछन् । त्यसपछि भाउजुले मेरो नम्बर दिनुभयो ।’ उनले भने, ‘उनीहरुले दाईको दुर्घटनाबारे मलाई जानकारी गराएपछि अर्काेदिन विहानै भाउजुसहित केहि आफन्त लिएर हामी घटनास्थल पाल्पा गयौँ ।’ दिनेशका परिवारका सदस्यहरु विहीबार मात्रै घटनास्थल पुगेका थिए । तर मृतकको पहिचान गर्न सकिने त्यस्तो कुनै प्रमाण बचेको अवस्था थिएन ।
गोपालका अनुसार दाजु दिनेशको मृत शरीर भन्दै प्रहरीले उनलाई प्लाष्टिकको झोलामा मासु जस्तो धुलो बस्तु दिएको थियो । ‘प्रहरीले सो घटना दुबै पक्षलाई राखेर मिलापत्र गराएपछि हामी फर्किन लाग्दा दाईको मृतक शरीर भनेर एउटा प्लाष्टिकको थैलो प्रहरीले दियो । त्यसमा मासुको जस्तो देखिने धुलो धुलो बस्तु थियो’, भाई गोपाल शर्माले भने । प्रहरीले दिएको प्लाष्टिकको थैलोलाई पाल्पाको सिमा भएर बग्ने राम्दी घाटमा अन्त्यष्टी गरेर घर फर्किएको दिनेशका दाई गोपालले बताएका छन् ।
मृतक दिनेश शर्माको परिवारमा श्रीमतीसहित १७ वर्षकी छोरी र १५ वर्षका छोरा छन् । उद्योगले मृतकका परिवारलाई नगद २० लाखसहित श्रीमतीलाई रोजगारी र छोराछोरी २२ वर्ष नपुगुन्जेलसम्मका लागि सहायता रकम उपलब्ध गराउने भनिएको छ । तर यो रकम उपलब्ध गराउने विषयमा उद्योगको नियत बदनियत देखिन्छ । पीडितको गरीबि र सोझोपनको फाईदा उठाउने खेलमा उद्योग लागेको देखिन्छ ।
मृतक शर्माको सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको मासिक दश हजारको ४० प्रतिशत हुन आउने रकम मासिक रुपमा पीडित परिवारलाई उपलब्ध गराउने सम्झौता गरिएको भनिएको छ । यो भनेको मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भन्ने हो । यसरी पीडित परिवारलाई अर्को पीडा दिने रणनतिमा उद्योगले खेल्न खोजेको देखिन्छ ।