
काठमाडौं । बलात्कारका आरोपितलाई जोगाएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै जानुका पाठक (शोभा) ले न्याय परिषद्मा निवेदन दिएकी छिन् । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफूमाथि जबरजस्ती करणी, भ्रुण हत्यालगायत मुद्दामा राजनीतिक स्वार्थका लागि आरोपितलाई जोगाएको भन्दै न्यायाधीशलाई कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।
उनले २०८१ वैशाख २० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा आफूमाथि करणी भएको, भ्रुण हत्या र डाँका चोरी भएको भन्दै जाहेरी दिएकी थिइन् । बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै सरकारी वकिल कार्यालयलाई तामेलीमा राख्न सिफारिस गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त जाहेरी तामेलीमा राखिदिएको थियो ।
जोहरी तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णय बदरसहित आरोपितमाथि कारबाहीको माग गर्दै उनले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेकी थिइन् । तर न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको थियो ।
उनले दर्ता गरेको ०८०–wo–२२३० नम्बरको रिट बुधबार उच्च अदालतले खारेज गरेपछि न्यायाधीशमाथि आवश्यक कारबाहीको माग गर्दै न्याया परिषद्मा निवेदन दिएकी हुन् । ‘मसँग यथेष्ट प्रमाण हुँदा हुँदै मेरो प्रमाण उपर कुनै नजर नलगाई तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कार्यविधि त्रुटी गरि भएको निर्णय सदर हुने गरि न्यायाधीशद्धयले के कसरी मेरोविरुद्ध एवं आरोपीतको पक्षमा फैसला गर्नुभयो ? राजनीतिक स्वार्थ, पैसा र पावरको आडमा उहाँहरुले सो फैसला गरेको कुरा मैले अनुभूत गरेको छु,’ उनले निवेदनमा भनेकी छन् । पाठकले पीडक बस्नेतलाई उन्मुक्ति दिएको र त्यसबारे निष्पक्ष छानबिनसहित न्यायाधीश भण्डारी र तिवारीलाई तत्काल पदमुक्तको समेत माग गरेकी छन् ।
