
सिन्धुपाल्चोक । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सुरक्षा योजनाको रणनीति बनाएको छ । नेपाली हरुको महान पर्व दसैं तिहारलगायतका पर्वलाई लक्षित गरि नयाँ सुरक्षा रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अपराधी गतिविधि लगायत दुर्घटना हुने जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा थप सुरक्षा रणनीति बनाएर जिल्ला प्रहरी कार्यालयले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन र सम्भावीत घटनाको सूचना संकलनको लागि महिला प्रहरीहरु सक्रिय रहेका छन । त्यसै अनुसार हामीले पुरुष मात्रै होइन सादा पोशाकमा महिला प्रहरी समेत खटिने खड्काले बताए ।
चोरी, डकैती तथा लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बनाएको छ ।
‘हामीले यो चाडपर्वमा सादा पोशाकका महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने स्थानमा खटाउने छौँ’, उनले भने । लुटपाट गर्न आउने समुहले महिला प्रहरीमाथि नजर लगाएपछि अन्य प्रहरीले उनीहरुलाई पक्राउ गर्ने रणनीति बनाएको खड्काले सुनाए । उनले, थपे, यो रणनीतिले चोरी डकैती तथा लुटपाटको घटना न्यूनीकरण हुने बिश्वास व्यक्त गरे ।
बजार एरिया तथा जिल्लाबाट बाहिरिने नाका, जिल्ला भित्रिने सबै नाकाको विभिन्न स्थानमा प्रहरीले २४ सै घण्टा चेकजाँच गर्ने योजना रहेको उनले बताए । त्यस्तै ठाउँठाउँमा मादक पदार्थ सेवन र लागु पदार्थ सेवन गर्नेहरुको लागी चेकजाँच र जिल्लाका विभिन्न स्थानमा रिफ्रेस सेन्टर बनाइएको उपरीक्षक खड्काले सुनाए । आर्थिक चहलपहल बढी हुने वैंक तथा वित्तिय संस्थाहरु रहेको स्थानमा बित्तीय सस्थाहरु चनाखो रहनुपर्ने र बित्तीय सस्थाले प्रहरीसग समन्वय गर्नु पर्नेमा उनले जोड दिए ।
आफ्नो आफन्तले बिदेशबाट पैसा पठाएको गाउँमा बस्तीमा थाहा दिन नहुने सुझाव दिए । यति पैसा निकालेको र बोकेर हिडेको थाहा पाए लुट्पाट हुनसक्ने भन्दै आमा नागरिकलाई यस्ता कार्यमा चनाखो रहन सुझाव दिए।