काठमाडौं । टीटीआई नामको अवैध संस्थालाई एउटा परिवारले अकुत सम्पत्ति आर्जनको स्रोतका रुपमा प्रयोग गर्दै आएको छ ।
परिवारका सबै सदस्य मिलेर यो संस्थालाई गैरकानुनी रुपमा चलाउने मात्रै होइन त्यहाँबाट भएको अवैध आम्दानीमा समेत एउटै परिवारले नै हालीमुहाली गरिरहेको छ ।
टीटीआई नामक उक्त संस्था कुनैपनि सरकारी निकायमा दर्ता छैन । तर, १६ वर्षदेखि गैरकानुनी गतिविधि गर्दै आईरहेको छ ।
दर्ता नभएको संस्थाको नाममा वार्षिक पौने अर्ब रुपैँयाभन्दा बढि अवैध रकम नेपाल भित्र्याउने काम गरिरहेको छ । यसरी अवैध रकम भित्र्याउने व्यक्ति हुन् कृष्ण घिमिरे ।
पाचँ जनाको सदस्य रहेको यो संस्थाको निर्देशकदेखि लेखापालसम्म घिमिरे परिवारकै सदस्यहरु छन् । उनीहरुले एकलौटी रजाइँ गरिरहेका छन् । कृष्ण घिमिरेको परिवारमा कृष्णकी श्रीमती सावित्री सुनार घिमिरे, छोरा आशिष घिमिरे, छोरी रोशनी घिमिरे र बुहारी अन्जु गुरुङ घिमिरे रहेका छन् ।
निर्देशकमा स्वयं घिमिरे छन् भने छोरा आशिष घिमिरेले टीटीआई तालिमका किताब छाप्ने जोन्स टेक्नोलोजी ईन्क प्रा. लि नामक छापाखाना संचालन गर्दै आएका छन् ।
कृष्णको पुर्खौली घर सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ८ बराम्चे हो । हाल कृष्णको परिवार ललितपुरको धापाखेल स्थित आफ्नै आलिसान बंगलामा बस्दै आएका छन् , जुन बंगला त्यहि अबैध रकमबाट खरिद गरिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
कृष्ण मध्यम वर्गको परिवारमा जन्मिएका व्यक्ति हुन् । तर उनको आर्थिक अवस्था एकाएक सुधारिएको देखेर उनका आफन्तहरुसमेत आश्चर्यमा छन् । आजका दिनमा कृष्णको जिवनशैली देखेर उनलाई चिन्नेहरु दंग पर्छन् ।
उनले टीटीआईकै तालिम संचालन गरेर ६ करोड रुपैयाँमा घर किनेका हुन् । उनीसंग महंगो चारपाङ्ग्रे गाडी समेत छ । साथै ठाउँ ठाउँमा श्रीमती सावित्री सुनार घिमिरेको नाममा करोडौँको जमिन समेत जोडिएका छन् ।
छोरो आशिषको नाममा करोडको छापाखाना, छाप्छन् नक्कली बिल
कृष्ण घिमिरेका छोरा आशिष घिमिरेले टीटीआईमा अपरेशन मेनेजर रूपमा काम गर्छन् । त्यसबाहेक उनकाे ललितपुरको धापाखेलमा करोडको छापाखाना छ । छापाखानाको नाम जोन्स टेक्नोलोजी इंक प्रा.लि हो । आफ्नै जमिनमा रहेको उक्त छापाखानामा टीटीआईका पुस्तक, भर्ना फारम, सर्टिफिकेट, नक्कली बिल लगायत कागजात छाप्ने गरिन्छ ।

केही समय पहिले यशैया प्रिन्टर्स नामक फर्जि कम्पनिको बिलमा जोन्स टेक्नोलोजी इंक प्रा.लि को पान नं राखेर नक्कली भ्याटबिल काटिएको कुरा बाहिरिएको थियो ।
यसरी नक्कली बिल काटेपछि सोही आधारमा गत साल अर्थात २०८० माघ १८ गते राजश्व अनुसन्धान विभागको टोलीले जोन्स टेक्नोलोजी ईन्क प्रा.लि मा छापा समेत हानेको थियो ।
तस्बिरमा : आशिष घिमिरेले फर्जी कम्पनी खडा गरि सक्कली कम्पनीकाे पान नं राखेर नक्कली बिल दिएकाे पाइएकाे छ । करछली सम्बन्धी राजश्व अनुसन्धान विभागमा परेकाे उजुरी सहित ।
सो घटनापछि नै पास्टर कृष्ण घिमिरेको कृष्ण लिला बाहिरिएको हो । छापाखानाको पूरा काम भने छोरा आशिष घिमिरेले नै समाल्दै आएका छन् ।

तस्बिरमा : आशिष घिमिरेकाे जोन्स टेक्नोलोजी इंक प्रा.लि । करछली सम्बन्धी राजश्व विभागमा उजुरी परेपछि हाल बन्द छ ।

तस्बिरमा : आशिष घिमिरे (जोन्स टेक्नोलोजी इंक प्रा.लि) का संचालक
नेपालमा ईसाई धर्म प्रचार गर्न अवैध विदेशी डलर भित्र्याउनेदेखि नेपाली नागरिकको व्यक्तिगत विवरण विभिन्न बहानामा विदेशी संस्थालाई पठाउने, कानुन विपरित धर्म प्रचार गरेर धर्म परिवर्तन गराउने, फर्जी कम्पनीको बिल काटेर राज्यलाई करछली गर्ने, तालिमको नाममा आएको रकम आफु खुसी रजाइँ गर्ने लगायत थुप्रै अपराधिक गतिविधिमा सक्रिय रहेको देखिन्छ । १६ वर्षदेखि कृष्णले टीटीआईको नाममा अवैध धन्दा चलाईरहेका छन् ।
त्यस्तै कृष्ण घिमिरेकी छोरी रोशनी घिमिरेले टीटीआईको नेपालका लागि अनुवादकको रुपमा काम गर्छिन् । बुहारी अन्जु गरुङ घिमिरे भने टीटीआईमा लेखापालको जिम्मेवारीमा छिन् । यसरी परिवारका सबै सदस्यको कमाईखाने भाडो बनेको छ टीटीआई ।
कृष्णले श्रीमतीलाई टीटीआईमा कुनै पनि जिम्मेवारीमा दिएकाे देखिदैन। तर, उनले अबैध धनले खरिद गरिएका जग्गाहरु श्रीमती सावित्री सुनार घिमिरेको नाममा राख्ने गरेका छन् ।
सम्धीलाई थानकोटको चर्च जिम्मेवारी
कृष्ण घिमिरेले छोरा, छोरी अनि बुहारीलाई मात्र होईन उनले आफ्ना सम्धीलाई समेत थानकोटमा रहेको सलाघा चर्चमा पास्टरको जिम्मेवारी दिएका छन् ।
स्रोतका अनुसार आफु टीटीआईको कार्यक्रम संचालन गर्ने भएपछि उनले थानकोटमा रहेको चर्च सम्धी धन बहादुर गुरुङको जिम्मा लगाएर हिडेका हुन् । कृष्णले सलाघा चर्चको जिम्मेवारी छोडेर हिडेको कुरा पास्टर धन बहादुरलाई पटक्कै मन परेको थिएन । यसकारण पास्टर गुरुङ र घिमिरेबीच सम्बन्ध चिसिएको पनि थियो । तर केही समय पहिले मात्र घिमिरेका छोरा आशिष र गुरुङकी छोरी अन्जुबीच बिहे भएपछि सम्बन्ध सुमधुर बनेको छ । अहिले यो परिवारै मिलेर टीटीआईको धन्दा चलाईरहेका छन् ।
हामीले यस विषयमा पास्टर धन बहादुर गुरुङसँग पनि बुझ्ने प्रयास गरेका थियौ । तर उनले यसबारे कृष्णलाई नै सोध्नुपने जवाफ दिए । उनले भने, ‘यसको प्रमुख कृष्ण नै हुन् । मैले के भन्ने ? मलाई केही थाहा छैन ।’
हामीले गरेको पटक पटकको अनुरोधमा उनले माथिकै वाक्य दोहो¥याए । तर टीटीआईमा आफ्नो कुनै भूमिका नरहेको उनले बताए ।
उनले केही थाहा नभएको भनेता पनि टीटीआईको कार्यक्रम सलाघा चर्चमा पनि संचालन गरेकोले उनलाई धेरै कुरा थाहा भएको स्रोतकाे दाबी छ ।
नेशनल लिडर टीमको बोर्डमा पनि आफ्नैको रजगज
टीटीआईमा एउटा नेशनल लिडर टीम नामको बोर्ड गठन गरिएको छ । यो बोर्डले नेपालमा कहाँ कसरी टीटीआईको तालिम संचालन गर्ने, कति मात्रामा तालिमका पुस्तक छाप्ने लगायत विभिन्न योजना बनाउने काम गर्दछ । तर स्रोतका अनुसार यो बोर्ड एउटा देखाउने दाँत मात्र भएको र सबै निर्णय कृष्ण घिमिरे आफैले गर्ने गरेका छन् ।
निमा लामा नाम गरेका व्यक्ति एन.एल.टी (नेशनल लिडर टीम) को बोर्ड मेम्बर हुन् । उनलाई टीटीआईमा राम्रो तलब अनि सेवा दिएर राखिएको छ । निमाको घरको भाडासमेत कृष्णले तिरिदिन्छन्् । निमाको प्लस टु उत्तिर्ण एक छोरी छिन् । निमालाई खुसी बनाउने उद्देश्ले छारीलाई पनि टीटीआईमा जागिर दिएर राखिएको छ ।
स्रोत भन्छ, निमालाई टीटीआई र पास्टर कृष्ण घिमिरेको अवैध धन्दाबारे राम्रोसंग थाहा छ । निमालाई यसरी खुसी नपारे आफ्नो सारा कर्तुत सार्वजनिक हुने हो कि भन्ने कुराको डर कृष्णलाई छ ।
बाहिर कसैलाई पनि टीटीआईको बारे थाहा नहोस् भनेरै बोर्डमा परिवारका सदस्य र एकाध आफ्नो पक्षका मान्छे मात्रै राखिएको टीटीआईकै केही कर्मचारी बताउँछन् ।
धर्मको आर्डमा धनार्जन
टीटीआईका एक पूर्व कर्मचारी भन्छन्, ‘घिमिरे विपन्न परिवारबाट आएका हुन् । करिब पाँच वर्ष पहिले हाेला कृष्णले आफ्नो पैतृक सम्पत्ति जम्मा ३/४ लाख जतिमा बिक्रि गरेका हुन्। मैले भेट्दा कृष्णकी श्रीमती सावित्रीले सामान्य सिलाई कटाईको काम गर्थिन् तर आज कृष्णको सम्पत्ति करोडौँको छ । छोरो आशिषका नाममा आफ्नै जग्गामा करोडौँको छापाखाना छ । कृष्णले धापाखेल हाईटमा केही समयअघि मात्र ६ करोड मूल्यमा एउटा बंगला किनेका छन् । अहिले उनिहरु सपरिवार त्यही बस्छन् । थानकोटको चर्च पनि कृष्णले नभ्याएर सम्धीलाई छाेडे । त्यसबाहेक पनि थुप्रै ठाउँमा जग्गा जोडिएको छ ।’

तस्बिरमा : कृष्ण घिमिरेकाे ६ करोड मूल्यकाे बंगला
केही समय टीटीआईको बुक स्टोर सम्हालेका एकजना कर्मचारी भन्छन्, ‘कतिपय कर्मचारीलाई किताब कहाँ छापिन्छ भन्ने समेत थाहा छैन ।’
टीटीआईको तालिम संचालन गरेका एक पास्टर भन्छन्, “हामीले एउटै समयमा प्रभुलाई चिनेका हौँ । कृष्णको अवस्था खासै राम्रो थिएन । उसको श्रीमतीले सिलाईको काम गर्थिन् । अहिले कृष्ण बाहिर चाहीँ सामान्य भएरै हिड्छन्। तर, भित्रभित्रै करोडौँ स्रोत नखुल्ने सम्पत्ति जोडेका छन् ।’

तस्बिरमा : युवालाई धर्म परिवर्तन गराउदै पास्टर कृष्ण घिमिरे
कृष्णले यसरी अवैध रुपमा काम नगरेर वैधानिक रुपमा काम गर्न पनि सक्थे तर उनले आफ्नो व्यक्तिगत नाफा अनि स्वार्थका कारण अवैधानिक बाटो अप्नाएको टीटीआईकै कर्मचारीको आरोप छ ।
उनी भन्छन्, ‘इसाईको क्षेत्रमा नेपालमा टीटीआई जस्ता धेरै विदेशी संस्थाहरुले काम गर्दै आएका छन् । काम गर्न अवैधानीक बाटो अप्नाउनै पर्दैनथियो । उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र अवैधानिक बाटो अप्नाएका हुन । नेपालमा इसाई धर्म प्रति कृष्णले टीटीआईको हेडक्वाटरलाई गलत सुचना प्रवाह गर्दै आएका छन। ’
अब कर्मचारीकोे कुरालाई मान्ने हो भने कृष्ण घिमिरेले नेपाल सरकार, नेपालका इसाई समुदाय र स्वयं सहयोगी संस्थालाई समेत ठगी रहेका छन् ।
कर्मचारी भन्छन,‘उनको यस्तो गतिविधिका कारण अहिले सारा इसाई समाजकै बद्नाम भएको छ ।’
नाेट : यस विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । नेपालमा धर्मका नाममा कसरी अवैध धन्दा चलिरहेको छ भन्ने बारे यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ । यस श्रृङ्खलालाई हामीले ‘ बिग स्क्याम ईन द नेम अफ जिसस ‘ नाम दिएका छौ । यससंग सम्बिन्धत थप सामाग्री पढ्न वा जान्न हामीसंग जोडिन सक्नुहुन्छ ।
हामी अहिले सम्म यस विषयमा प्रकाशन गरेका समाचारहरू निम्न छन् । याे पनि पढ्नुस् ।
इसाईको नाममा करोडौँ ‘डलर’ घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन
इसाईको नाममा लुट शृङ्खला (२) : अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर