प्रहरीले दर्ता गरेन जातीय विभेदको उजुरी, पीडकलाई उन्मुक्ति दिने खेलमा ‘डीएसपी’ सुवेदी !

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौंको पद्मकन्या क्याम्पसमा एक छात्रालाई जातीय गालिगलौज गर्दै अपमान गरेको विषयमा प्रहरीले जाहेरी लिन आनाकानी गरेको छ । आफुमाथि जातीय गालीगलौज सहित अपमान भएको भन्दै दुर्गा नेपालीले भदौ २४ गते नक्सालस्थित प्रहरी बृत मालीगाउँमा न्यायका लागि जाहेरी दिन पुगेकी थिइन् । तर, प्रहरीले घटनाको जाहेरी दर्ता गर्न नमानेको पीडित नेपाली बताउँछिन् ।

गएको भदौ १० गते क्याम्पसमा परीक्षा फारम भर्न जाँदा अखिल क्रान्तिकारी पद्मकन्या इकाई समितिकी तत्कालिन अध्यक्ष तिर्सना आले मगर र पूर्व अध्यक्ष स्मृति चापागाईले अत्यन्तै तुच्छ शब्द प्रयोग गर्दै जातीय दुर्ब्यवहार गरेको पीडित दुर्गा नेपालीको आरोप छ ।

डीएसपी सुवेदीको शंकास्पद भूमिका

पीडित नेपालीले दिएको जाहेरी दर्ता नगर्न भन्दै प्रहरीकहाँ पीडकहरुले निरन्तर दबाब दिइरहेका छन् । जाहेरी दर्ता हुनबाट रोकेर पीडकलाई उन्मुक्ति दिने गतिविधिमा माओवादीका माथिल्लो तहकै केही नेताहरु सक्रिय भइरहेका छन् ।त्यहि दबाबमा परेर नक्साल स्थित प्रहरी बृत मालीगाउँका प्रहरी नायब उपरिक्षक ‘डीएसपी’ इन्द्र सुबेदीले जाहेरी नै दर्ता नगराउने खेल खेलिरहेको देखिन्छ । सबै प्रमाण पुर्याएर जाहेरी लिएर जाँदासमेत शक्तिको आडमा पीडितलाई उल्टै पीडा दिने काम गर्न खोजेको पीडितको भनाइ छ ।

‘प्रहरीसमक्ष उजुरी दिन खोज्दा उल्टै प्रहरीले ‘सत्य–तथ्य’ नबुझी उजुरी दर्ता गर्न मिल्दैन भनि फर्काइदिनु भयो । उनीहरुलाई बोलाएर कुरा बुझेर मात्र जाहेरी दर्ता गर्छौँ भन्नु भएको छ । थाहा छैन कहिले दार्त हुने हो?’ पीडित नेपालीले बताइन् । यद्यपी, आजको दिनसम्म प्रहरीले आफ्नो जाहेरी दर्ता नगरेको उनको भनाई छ ।

प्रहरीले जाहेरी दर्ता नगर्नुको कारण के थियो त ? प्रहरी नायब उपरिक्षक ‘डीएसपी’ इन्द्र सुबेदी भन्छन्, ‘मैले नै पीडितलाई रेस्पोेन्स गरेको हो । उहाँ उजुरी लिएर आउनु भएको थियो । हामीले उजुरी लिइसकेका छौँ । पीडितको उजुरी मसंगै छ ।’

पीडितले न्यायका लागि दिएको जाहेरी दर्ता नगरि किन आफैसंग राख्नु भयो त ? भने प्रश्नमा उनी भन्छन्, ‘सबै आए जतिका निवेदन र जाहेरी दर्ता गर्न पनि सकिदैँन । अर्को पक्षलाई पनि सम्पर्कमा ल्याइसके पछि यथार्थ के हो बुझेर मात्र दर्ता हुन्छ ।’

उनका अनुसार अहिले आरोपितहरु संगठनको अधिवेशनका कारण उपत्यका बाहिर छन् । प्रहरीले सम्पर्क गर्ने प्रयास गरिरहेको छ । तर, अधिवेशनका लागि बाहिर भएका कारण उनीहरुसंग सम्पर्क हुन सकेको छैन । यद्यपी, संगठनको अधिवेशनका लागि राजधानी बाहिर गएका भनिएका आरोपीहरु राजधानीकै बिभिन्न क्याम्पसमा आयोजित कार्यक्रममा देखिने गरेका छन् । तर प्रहरीले बेवास्ता गर्दै आइरहेको छ ।

त्यसो हो भने, जाहेरी दर्ता कहिले हुन्छ त ? भन्ने अर्को प्रश्नमा डीएसपी सुबेदी भन्छन्, ‘जाहेरी दर्ता गर्ने भन्ने सानो कुरा त होइन नि । यथार्थ कुरा पत्ता लगाएर तथ्यका आधारमा पो बल्ल मुद्धा दर्ता गर्ने हो । हामी तिनीहरुलाई ल्याउँछौँ, यथार्थ बुझ्छौँ, यदी घटना सत्य रहेछ भने उजुरी दर्ता गरेपछि कारवाही प्रकृया अघि बढाउँछौँ । पीडकले उन्मुक्ति पाउँदैनन् । कानुन अनुसार कारवाही हुन्छ ।’

पीडित नेपालीका अनुसार डीएसपी सुवेदीले यो घटना लुकाउनका लागि केही प्रहरीहरुसमेत परिचालित गरेका छन् । उनीहरुले पीडित नेपालीसँग भेटेर कुरा गर्ने प्रस्ताव गरेका छन् ।  ‘केही दिनअघि मैले डीएसपी सुवेदीले दिएको नम्बरमा फोन गरेकी थिएँ, तर त्यो नम्बरमा अर्कै एकजना प्रहरी कर्मचारीले फोन उठाएर कतै बाहिर भेटेर कुरा गरौँ न भन्ने प्रस्ताव गरे ’, पीडित नेपालीले दियोपोष्टसँग भनिन्, ‘असम्बन्धित मान्छेलाई मैले किन भेट्नु? त्यसैले मैले सिधै इन्कार गरेँ । ।’ पीडितका अनुसार डीएसपी सुवेदीले बिभिन्न बहाना बनाएर दुर्गालाई उजुरी दर्ता गर्नबाट रोक्ने खेल खेलिरहेका छन् ।

यतिसम्म कि, पीडकसँग सल्लाह गरेर जाहेरी दर्ता गर्ने भनेर पीडित व्यक्तिलाई रोक्ने कामसमेत भईरहेको खुलेको छ । यो गतिविधिले आफूहरुलाई झनै अर्को पीडा दिने काम गरेको पीडित नेपालीले बताएकी छिन् ।

पीडितले आफु अन्यायमा परेको महसुुस गरि न्यायका लागि किटानी जाहेरी दर्ता गर्न खोजेमा प्रहरीले बिना कुनै वहाना किटानी जाहेरी दर्ता गर्नु पर्ने अधिबक्ता त्रिलोकचन्द्र बिश्वास बिस्वकर्माका भनाई छ ।

उनका अनुसार ‘छुवाछुतजन्य धेरै घटनामा प्रमाण देखिदैँनन् । अझ गाली गलौज र जातीय अपमानका घटनामा त झनै प्रमाण भेट्न निकै गाह्रो हुन्छ । अपमान त महसुस गर्ने कुरा हो । यस्तो अवस्थामा प्रहरीले प्रमाण पर्खेर बस्नु हुँदैन । पीडितको जाहेरीका आधारमा कानुनी कारवाही अगाडी बढाउनु पर्छ ।’  प्रहरीले जाहेरी दर्ता गर्न नमानेमा ‘सरकारी वकिल’को कार्यालयमा गई जाहेरी दर्ता गर्न सकिने र सोही ब्यहोराको जाहेरी ‘राष्ट्रिय दलित आयोग’मा पनि दिन सकिने उनले बताए ।

त्यसो त, जातीय भेदभाव तथा छवाछुत (कसुर र सजाय) ऐन, २०६८ को प्रस्तावनामै ‘कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिलाई उचनीच दर्शाउने, अपमानजनक शब्द प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्नुलाई जातीय बिभेद गरिएको ठहर हुनेछ’ भनिएको छ । त्यस्तो कार्य गर्ने ब्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ब्यवस्था छ ।

नेपालको संबिधान २०७२ को धारा २४ को (३) मा ‘उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन’ भनि उल्लेख छ ।’

तर, प्रष्ट रुपमै कानुनमा उल्लेख भएको कुरालाई बेवास्ता गरि पीडितको जाहेरी दर्ता गर्न नमान्नु प्रहरीको कमजोरी भएको दलित अभियन्ता गणेश बिके देउल्यालको बताउँछन् । यदी प्रहरीले पीडितको जाहेरी दर्ता गर्न नमानेमा हुलाक मार्फत जाहेरी पठाउन सकिने र हुलाकबाट आएको जाहेरी कुनै पनि अवस्थामा दर्ता गर्नै पर्ने कानुनी आधार रहेको उनले बताए ।

छुवाछुतका घटनामा प्रहरी दलित मैत्री नभएको अधिबक्ता यमकुमारी ददेल बताउँछिन् । पीडितले आफुलाई अन्यायमा परेको महसुस गरि जाहेरी दिन जाँदा कानुन बमोजिम ढाँचामा नलेखिएको वा मौखिक रुपमै आएको उजुरी समेत प्रहरी आफैले ढाँचा र लिपीबद्ध गरि उजुरी लेखेर जाहेरी दर्ता गरी तत्कालै अनुसन्धान प्रकृयाको थालनी गर्नु पर्ने अधिबक्ता ददेलको भनाई छ ।

उनी भन्छिन्, ‘यो घटनामा प्रहरी प्रशासन आफै न्यायाधिस बन्न खोजेको जस्तो देखिन्छ । स्वयंम पीडित नै उपस्थित भई आफ्नो समस्या सुनाएर जाहेरी दर्ता गर्न खोज्दा प्रहरी वाधक हुनु भनेको प्रहरीले गरेको पदको दुरुपयोग हो ।’ जातीय बिभेद र बिभेदजन्य घटनाको जाहेरी दर्ता गर्न खोज्दा ‘यस विषयमा छलफल गरेर जाहेरी दर्ता गर्छौ’ भन्नू राज्य संरक्षित अपराध र प्रहरी प्रशासको कमजोरी भएको उनी बताउँछिन् ।

यता, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भनिने केही नेताहरुले ‘संगठनको कुरा संगठनमै मिलाउने’ भन्दै मुद्धा दर्ता नगराउन निरन्तर दवाव दिइहको पीडितको नेपालीको भनाई छ । अर्कातिर स्वयंम पीडक भनिएका ‘चापागाई’ र ‘आले मगर’ले आफुमाथि झुटो आरोप लगाएको भन्दै त्यसको खण्डन गर्दै आएका छन् ।

दुबै जना आरोपितले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै भनै पीडा दिएको पीडित नेपाली बताउँछिन् । ‘त्यो दिन मलाई जात छोएर तथानाम गाली गरे । तँ दलित भएर दलितकै ठाउँमा बस् । हामीसंग दलित पारा देखाउने होइन । हामी तँजस्ता दलितहरुलाई पानी खुवाउँदै हिँड्ने मान्छे हौँ, भन्दै मेरो मुखमा औँला कोच्याई अपमान गरे । अहिले आएर मैले नै माफी माग्नु पर्छ भन्छन्, यो कहाँको न्याय हो?’ उनले प्रश्न गरिन् ।

आफ्नै साथीहरुका कारण आफ्नो आत्मसम्मानमा चोट पुगेको उनी बताउँछिन् । यता प्रहरी प्रशासनले समेत न्यायका लागि पहल नगरिदिएको र प्रहरी प्रशासनकै कारण आफुले न्याय नपाइने हो कि भन्दै उनी चिन्ता ब्यक्त गर्छिन् ।

मुलुकककै सबैभन्दा जेठो बिश्वबिद्यालयको रुपमा चिनिदैँ आएको त्रिभुवन बिश्व बिद्यालय अन्तरगत एक मात्र महिला क्याम्पस पद्मकन्या क्याम्पसमा बि.एस.डब्ल्यु. पहिलो वर्षमा अध्ययनरत दुर्गा नेपाली आफै पनि अखिल क्रान्तिकारी पद्मकन्या इकाई समितिको सह–सचिव थिइन् । भर्खरै सम्पन्न अधिवेशनमा दुर्गा पद्मकन्या इकाई समितिको सचिवमा निर्वाचित भएकी छिन् । योभन्दा पहिले आफ्नै संगठनका साथीहरुले बिना कारण आफ्नो नाम सह–सचिब पदबाट हटाएको भन्दै उनले असन्तुष्टिसमेत जनाउँदै आएकी छिन् ।

यहि बिषयलाई लिएर भदौ १० गते क्याम्पसमै भनाभन भएको थियो भने त्यसक्रममा आले र चापागाईले उनलाई ‘दलित’ भन्दै गालीगलौजसहित अपमान गरेको दुर्गाले बताएकी छिन् । संगठनको सानो बिवादको बिषयमा ‘जात’ जोडेर गाली गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

सम्बन्धित खबर