अन्ततः रवि लामिछाने आज पक्राउ नपर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज नै पक्राउ नपर्ने भएका छन् । छविलाल जोशी पक्राउ परेलगत्तै लामिछानेलाई पक्रन खोजेको हल्लाले साँझदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पार्टी कार्यलयमा भीडभाड भएको थियो ।

रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरु प्रतिकारका लागि भन्दै पार्टी केन्द्रीय कार्यलय पुगेका थिए । तर, आज नै पक्राउ गर्ने आफूहरुको कुनै तयारी नरहेको प्रहरी महानिरिक्षक एवं आईजीपी बसन्त कुँवरले दियोपोष्टलाई बताए । उनका अनुसार रवि लामिछाने अनुसन्धानको घेरामा छन्, तर आज नै पक्राउ गर्ने कुनै तयारी छैन ।

‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । अनुसन्धान जारी छ, तर, आज नै पक्राउ गर्न खोजेको विषयमा कुनै सत्यता छैन, आईजीपी कुँवरले बताए ।

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो । प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस