काठमाडौं। शनिबार बेलुका खाना खाने समयमा एक्कासी जीवन पराजुलीले पालेको ब्रुनो (कुकुरको नाम) जोर कराउन थाल्छ । खाना खान बसेका पराजुली परिवारका सबै आत्तिएर बाहिर आए र उनीहरु पनि जोडले आवाज निकाल्न थाले । पराजुली परिवारका छिमेकी कृष्ण तामाङले ब्रुनोलाई चितुवाले आक्रमण गरेर घिसार्दै लगिरहेको देखेपछि चितुवा भएतिर दुईचार ढुङगा हिर्काए । त्यसपछि ब्रुनोलाई चितुवाले छोड्यो र ब्रुनो कराउँदै घरतिर फर्कियो । चितुवाको आक्रमणबाट रगताम्मे भएको ब्रुनोको उपचारपछि अहिले निको हुन थालेको छ ।
शनिबार काठमाण्डौ महानगरपालिका–३२, मा भएको यो घटनाले स्थानिय झनै त्रसित छन् । यो क्षेत्रको मनोहरा खोलादेखि पश्चिमपट्टी पर्ने थाप्रो, पुरानो सिनामंगल र पेप्सीकोला आसपासमा अहिले चितुवाको त्रास फैलिएको छ । त्रिभुवन विमानस्थलले पूर्वी क्षेत्रमा अधिग्रहण गरेको जमिन र त्यो क्षेत्रमा रहेका ठूल्ठूला घाँसेझाडीलाई चितुवाले बासस्थान बनाएको स्थानीय जीवन पराजुली बताउँछन् ।
उनी भन्छन् ‘विमानस्थल वरपर रहेको झाडी सफाई गरिदिएको भए राम्रो हुने थियो । यसअघि रातिको समयमा मात्रै निस्किन्थ्यो । अब त, दिउँसै पनि बाटो हिड्दा झाडी तिर हेर्दै हिड्नुपर्ने दिन आयो । कुन बेला चितुवा आउने हो भन्ने डरले सताउन थालेको छ ।’
शंका एकातिर, तथ्य अर्कैतिर
दुई महिनादेखि दिन बिराएर गाउँमा कुकुर हराउन थाले । लावारिसे कुकुर भएकाले पनि स्थानीयले खासै चासो दिएनन् । कुकुर हराएको थाहा पाउनेले यसलाई हासोको मजाक बनाए । कुकुरको मासु कोरियनले मिठो मानेर खान्छन् भन्दै बिहान बेलुका गाउँका चोक तथा चिया पसलमा कोरियनको खिसिटिउरी हुन थाल्छ । यस्ता कुराले कति स्थानियलाई कोरियन पर्यटकमाथि शंका गर्न बाध्य बनायो पनि । तर स्थानियको शंकालाई सत्य मान्न कुनै आधार\प्रमाण थिएन ।
स्थानिय उषा लामाले घरमा दुईवटा कुकुर पालेकी थिइन् । एकरात उनको दुईमध्ये एक कुकुर एकाएक हरायो । लावारिसे कुकुर मात्र हराएको कुरा थाहा थियो । जब घरकै कुकुर हराएपछि समाजमा हल्ला फैलियो । कुकुर कता गयो, कसले लग्यो भन्ने कुरा कसैले अन्दाज लगाउन सकेनन् । उषाले दुखेसो सुनाउँदै भनिन्, ‘आफूले घरमा माया गरेर पालेको दुईवटा कुकुरमा एउटा कुकुर हरायो । अहिलेसम्म अत्तोपत्तो छैन ।’
यो क्रम यतिमै रोकिएन, हप्तादिन अघि मात्र उषाको घरमा अर्को घटना हुन पुग्यो ।
उनी सुनाउँछिन, ‘एकहप्ता पहिले मात्र बाँकी अर्को कुकुर रातिको करिब १२ बजेतिर रुँदै गरेको आवाज सुनियो । र कसैले कुकुरलाई घिसार्दै गरेको जस्तो अनुभव भयो । परिवारका सबैजना आत्तिएर उठ्यौं । जोडले चिच्याएपछि कुकुरलाई छोडेर त्यो के थियो भाग्यो । कुकुर हामीतिर कुइँकुइँ गर्दै आयो ।’ रातीको समय भएकाले आफूहरुले के ले कुकुर लगेको हो, पत्तो नपाएको लामा बताउँछिन् ।
पहिला सडकका कुकुर मात्र हराउँथे । अहिले आएर घरमा पालेका कुकुरसमेत हराउन थालेपछि स्थानीय झन् त्रसित छन् । यसबारे स्थानीयले जनप्रतिनिधिदेखि प्रशासनसम्म कुरा नपुर्याएका होईनन् । तर अहिलेसम्म कहीँबाट पनि कुनै सुनुवाई नभएको स्थानिय गुनासो गर्छन् ।
शनिबार आफ्नै छिमेकमा घटेकोे घटनाले झस्काएको काठमाण्डौ महानगरपालिका–३२ का वडा सदस्य देवेन्द्र पराजुली बताउछन् ।
पराजुली भन्छन् ‘वडा कार्यालयमा चितुवाले तर्साएको कुरा लिएर महिला दिदिबहिनीहरु आउनु हुन्थ्यो । सुरुमा उहाँहरुको कुरामा विश्वास लागेकै थिएन । जब आफ्नै घर छिमेकमा घटना भयो, विश्वास नगरी बस्न सकिएन ।’ वडासदस्य पराजुलीले भने, ‘घटनाको विषयमा त्रिभुवन विमानस्थललाई पनि मौखिक जानकारी गराएको र चितुवा नियन्त्रणका लागि पहल गरिदिन निवेदन सहितको आग्रहपत्र पठाउन लागेको भनेका छन् ।’
आंकलन अनेक
स्थानीय जयराम केसीका अनुसार त्रिभुवन विमानस्थलको पूर्वी क्षेत्रमा दुईवटा चित्तल हरेक दिन देखिन्थे । समुदायका मानिस र ति चित्तलबीच सुमधुर सम्बन्ध थियो । स्थानीय चित्तललाई खानेकुरा समेत दिने गर्थे । आफूले समेत कैयौं पटक चित्तललाई खानेकुरा खुवाएको केसी सम्झिन्छन् ।
गएको दुई महिनादेखि त्यस क्षेत्रमा ती दुबै चित्तल देखिन छोडेका छन् । केसीले भने ‘सायद ति चित्तलको शिकार गर्न चितुवा आएको र विमानस्थल वरपर रहेका ठूल्ठूला बुट्यानसहितको झाडीलाई उसले आफ्नो आश्रय स्थल बनाएको हुन सक्ने पनि देखिन्छ ।’
यो क्षेत्रमा दिनहुँ जसो घटना हुन थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल आसपास क्षेत्रमा रहेका ठूलाठूला घाँसका झाडीलाई काँटछाट गरेर हटाउन भन्दै पहल गरिदिन स्थानीयले सरोकारवालासँग आग्रहसमेत गर्दै आएका छन् ।
त्रिभुवन विमानस्थलको आफ्नै तर्क
सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडयन प्राधिकरणको कार्यालयलाई सम्बोधन गर्दै काठमाण्डौ–३२, का स्थानीय जीवन पराजुलीले एक निवेदन पत्र लेखेका छन् । निवेदन मार्फत चितुवाले स्थानीय त्रसित रहेको र विमानस्थल क्षेत्रलाई चितुवाले आफ्नो आश्रय स्थल बनाएकाले चितुवा नियन्त्रणतर्फ ध्यानाकर्षण गर्दै पत्र लेखेका थिए । जसको दर्ता नम्बर ४५४ हो ।
तर, घटना सम्बन्धी कुनै जानकारी नभएको र आफ्नो कार्यालयमा यसबारे निवेदन परेको सम्बन्धमा आफू जानकार नभएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडयन कार्यालयका प्रवक्ता रिङजी शेर्पाको भनाइ छ । उनको भनाइ छ, ‘पहिले गस्तिमा जाँदा सुरक्षार्मीको टोलीले कता वन बिरालो जस्तो देखेका थिए । पछि खोज्दा फेला परेको थिएन ।’