
काठमाडौँ । बाढीपहिरोमा परेर देशभर अहिलेसम्म ७५ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका छन् । देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको सशस्त्र प्रहरीले पुष्टि गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्। बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन्।
काठमाडौँमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ। ललितपुरमा १८ जनाको ज्यान गएको छ। ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।
काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ। सिन्धुलीमा एक जनाको शव फेला परेको छ।
धादिङमा एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्।
रुपन्देहीमा २ जना बेपत्ता छन्। कोसी प्रदेशमा ८ जनाको ज्यान गएको छ। पाँचथरमा ५ जना र घनकुटामा २ जनाको मृत्यु भएको हो। झापामा ३ जना र पाँचथरमा ५ जना अझै बेपत्ता छन्। महोत्तरीमा एक जना बेपत्ता छन्।
यस्तै सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ। कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको बताए। विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए। मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए।