
काठमाण्डौं । धादिङको झ्याप्ले खोलामा पुरिएका गाडीबाट १४ शव निकालिए छन् । काठमाण्डौ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका गाडीबाट १४ जनाको शव निकालिएको हो । हिजो बिहान पहिरो जाँदा झ्याप्ले खोलामा गाडीहरु पुरिएका थिए ।
लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच वटा र नम्बर नखुलेको अर्को बसबाट नौ जनाको शव निकालिएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
हिजो बेलुका एक्साभेटरको सहायताले गाडी निकालिएको हो । पहिरोमा अरू बस पनि पुरिएको आशङ्कामा प्रहरीले खोजी गरिरहेको छ ।