काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ ।
आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।