देश राष्ट्रिय विपतमा, प्रधानमन्त्री ओली अमेरिकामा कन्सुलेट उद्घाटन गर्दै

ओलीको विदेश भ्रमण मोह :

दियोपोस्ट संवाददाता

काठमाडौं । गत बिहीबार रातिदेखि देशमा अविरल वर्षाका कारण ठूलो रुपमा जन धनको क्षति भएको छ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
गृह मन्त्रालयकाअनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान ६ः३० बजेसम्मको जानकारीअनुसार देशभर ४८ राजमार्ग पूरै बन्द छन् भने चार सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको छ । सयौं घर डुबानमा छन् भने तीन वटै बीपी, पुष्पलाल र मनद भण्डारी राजमार्ग ठप्प छन् ।

भीषण वर्षाका कारण देशका अधिकांश स्थानमा सडक भत्किएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकमा अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । तर यतिबेला मुलुकको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने बेफिक्रीअमेरिका भ्रमणमा व्यस्त छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिका पुगेका ओलीलाई महासभा सकिएपछि पनि नेपाल फर्किन कुनै चासो देखाएनन् । अझ देश विपतमा परेर रोइररहेका बेला उनी व्यक्तिका घरमा अबैतनिक बाणिज्यदुत कार्यालय उद्घाटन गर्दैमा व्यस्त देखिन्छन् ।

राष्ट्रसङ्घको महासभामा गत शुक्रबार नै सम्बोधन गरेका ओलीलाई यस विषयमा भने जानकारी नभएको पनि होइन । बिहीवारदेखि आइतवारसम्म देशका धेरैजसो भागमा ’हल्का’देखि ’अति भारी वर्षा’सम्म हुने देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सजग रहन चेतावनी जारी गरेको थियो ।

देशमा बाढी पहिरो लगायतका बिपत्तिबाट ठूलो रुपमा क्षति हुदा प्रधानमन्त्री ओली भ्रमण तथा सामान्य उद्घाटनमा व्यस्त भएपछि केही आलोचना पनि हुने गरेको छ ।

पत्रकार रामचन्द्र भट्ट सामाजिक सञ्जालन फेसबुकमा लेख्छन्, “प्रशव पीडामा रहेकी महिलालाई लोग्ने मान्छेले गर्न सक्ने सहयोग केहि हुँदैन । नत लोग्नेसँग पीडा साट्न मिल्छ, नत उपचारमा सहयोग गर्न सक्छन् ।
तर लोग्ने नजिक मात्र बसिदिँदा पनि महिलालाई आड, भरोसा मिल्छ । त्यस्तो समयमा लोग्ने नजिक भइँदिदा मात्र पनि महिलाहरु अत्तालिदैनन् ।
प्रधानमन्त्रीले बाढी पीडितलाई तत्काल उद्धारमा गर्न सक्ने केहि होइन । न हेलिकोप्टर उँडाउने, नत पौडिएर पीडितलाई बाढीबाट निकाल्ने ? प्रमंबाट गर्नैपर्ने काम कार्यवाहक प्रमंबाट भएकै होलान् ।
तर प्रशव पीडामा रहेकी महिलालाई जसरी लोग्ने नजिक हुँदा ढुक्क हुने अवस्था हुन्छ त्यस्तै देशमा विपत्ती पर्दा सरकार प्रमुख देशमै हुँदा राम्रो हुन्छ । यतिखेरको मुख्य काम भनेको जतिसक्दो छिटो स्वदेश फर्किनु हो, नकी यस्ता अवैतनिक वाणिज्यदूतका कार्यालयमा झण्डोत्तलन !
देश ठप्प छ ! देश शोकमा छ ! यहाँ उत्सव !! यो उत्सव गर्ने समय हो ? उपयुक्त अवसर यहि हो ?
नेपालबाट आएका सरकार प्रमुख, मन्त्रीहरु अमेरिकामा हाम्रा लागि अतिथि हुन् । देश बाहिर कालोझण्डा देखाउने विधिको म सधैँ विरोधी हुँ । यद्यपी यस्तो बेलामा टोलटोल चाहारेर अमेरिका घुम्ने कामलाई प्राथमिकता दिने कि नेपाल फर्किने विषयलाई ?
युद्धमा होमिएको युक्रेनी राष्ट्रपति जेलिनिस्की चार दिनमै हिजो फर्किसके । उनले बाईडेनदेखि ट्रम्पसम्म छुट्टै बैठकको अवसर पाए । इजÞरायली प्रमं बेन्जामिन नेतान्याहु दुई दिनलाई मात्र आए । नरेन्द्र मोदी फर्किसके ।
के महत्वपूर्ण हो ? तत्कालको जरुरी के हो ? भन्ने कुरा शासकले किन बुझ्दैनन् ?”

अन्य देशमा राष्ट्र प्रमुखहरु स्वदेश फर्किसकेका छन् । युद्धमा होमिएको युक्रेनी राष्ट्रपति जेलिनिस्की चार दिनमै हिजा (शनिवार) स्वदेश फर्किसकेका छन् भने, इजÞरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु दुई दिनलाई मात्र आएर स्वदेश फर्किए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि स्वदेश फर्किसकेका छन् । तर नेपालका प्रधानमन्त्री ओलीको भने चाँडै स्वदेश फर्किने छाँटकाँट देखिदैन ।

यस्तै लेखक तथा गायक राम प्रसाद खनालले पद मर्यादाको ख्याल गर्नु पर्ने भन्दै सामाजिक सञ्जालमा लेख्छन्, “देश र जनता रोइरहेको बेलामा अमेरिकामा व्यक्तिका घरमा काम न काजको अबैतनिक बाणिज्यदुत कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओली !
यस्तो बिपतको बेला तपाईँको अमेरिका बसाइ र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईँले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ? तपाईँ त देशको प्रधानमन्त्री हो, सारा जनताको प्रधानमन्त्री हो नि, आफ्नो पद, उचाइको मर्यादा र गरिमा ख्याल गर्नु पर्ने होइन र ?? कृपया तुरुन्त देश फर्केर यो विपत्तिमा नेपाली जनतालाई, पीडितहरूलाई प्रधानमन्त्री भएको आभास दिनुस्, सरकार भएको आभास गराउनुस् । डुबाए डुबाए तपाईँका वरिपरि र घेरामा हुनेहरूले प्रधानमन्त्रीज्यू । यो त पटक्कै हजम भएन दुःख नमान्नुहोला ।”

सम्बन्धित खबर

सिफारिस