रास्वपाको टिप्पणी– दुई दिनको वर्षाले दुई तिहाइ सरकारको औकात देखाइदियो

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइएको भन्दै टिप्पणी गरेका छन्।

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदिएको बताएका हुन्।

‘दुई तिहाइको सरकार सक्षम र यस्ता विपदहरूसँग लड्छ भन्ने आशा थियो, हर्क, बालेन र कुलमानजस्ता नेताहरूलाई लखेट्न मात्र बनेको रहेछ,’ उनले भने, ‘मान्छे मरिसकेपछि मोबाइलमा रिङटोन राखेर राज्य संयन्त्रको भूमिका देखिँदैन। यो गठबन्ध गैरजिम्मेवार भएको देखियो।’

यसअघिको गठबन्धन सरकारले रास्वपाको सभापति रवि लामिछाने गृहमन्त्री हुँदा असोज १७ गतेसम्म बाढीपहिरोको जोखिम हुने र सतर्कता अपनाउनका लागि भनेको पनि उनले बताए।

‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपदमा आवश्यक परेको बेला सरकार चुकेको देखियो‚’ उनले भने‚ ‘सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र ।’

सिफारिस