नेकपा बहुमतमा आन्तरिक विवाद चर्कियो, पार्टी प्रवक्ता चलाउनेले गरे अध्यक्ष कञ्चनलाई बर्खास्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको विशेष भर्चुअल बैठकले कञ्चनलाई हटाउँदै अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता उदयबहादुर चलाउने ‘दीपक’लाई अध्यक्ष मण्डलको अध्यक्ष चयन गरेको हो ।

पार्टीले जारी गरेको प्रेस वक्तव्यमा कञ्चनमाथि पार्टीको संगठनात्मक विधि, पद्धति र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । पार्टीका अनुसार कञ्चनले आफ्नो अनुकूलता नदेखिएपछि पटकपटक राष्ट्रिय सम्मेलन स्थगित गर्दै आएको तथा अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण भएपछि पनि एकल वक्तव्य जारी गर्ने र सम्मेलनको पक्षमा रहेका नेताहरूमाथि कारबाहीको परिपत्र जारी गर्ने गतिविधि गरेको आरोप लगाइएको छ ।

नेकपा बहुमतले २०८२ कात्तिक २८ देखि मंसिर २ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले २०८३ वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ । तर, उक्त सम्मेलन पटकपटक स्थगित भएको पार्टीको भनाइ छ । त्यसपछि साउन १४ देखि १६ गतेसम्म पोखरामा बसेको केन्द्रीय समिति बैठकले असोज ५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै कञ्चनलाई महासचिवबाट हटाएर अध्यक्ष मण्डल प्रणालीमा जाने निर्णय गरेको थियो ।

कञ्चनमाथि ‘आदर्शवादी द्वन्द्ववाद’ र ‘गैरमार्क्सवादी प्रवृत्ति’ देखिएको, संगठनमा प्राधिकारवादी व्यक्तिवाद तथा व्यवहारमा षड्यन्त्र, शंका र अपारदर्शिता देखिएको आरोप पनि पार्टीले लगाएको छ । यस्ता गतिविधिले पार्टीभित्र गुटबन्दी र अराजकतालाई प्रश्रय दिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको वक्तव्यमा उल्लेख छ ।

यसैबीच नेकपा बहुमतसम्बद्ध विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरूले पनि कञ्चनलाई जिम्मेवारीबाट हटाउने निर्णयप्रति समर्थन जनाएका छन् । संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले कञ्चनले स्वेच्छाचारी रूपमा राष्ट्रिय सम्मेलन स्थगित गरेको र फरक मत राख्ने नेताहरूमाथि कारबाहीको प्रयास गरेको आरोप लगाएका छन् ।

उनीहरूले कञ्चनको गतिविधि राष्ट्रिय सम्मेलन भाँड्ने उद्देश्यमा केन्द्रित रहेको दाबी गर्दै पार्टीभित्र लामो समयदेखि उनी अल्पमतमा रहेको बताएका छन् । राष्ट्रिय सम्मेलनका लागि प्रस्तुत फरक दस्तावेजलाई अस्वीकार गर्दै वैचारिक बहसबाट पन्छिएको र पटकपटक सम्मेलन स्थगित गरेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

कञ्चन पक्ष र दीपक पक्षबीचको विवाद भने केही दिनयता सार्वजनिक रूपमा छताछुल्ल भएको छ । यसअघि पार्टी प्रवक्ता तथा अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दीपक’लाई कञ्चन पक्षले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको थियो । सोमबार कञ्चनले जारी गरेको विज्ञप्तिमा चलाउनेमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाइएको थियो ।

चलाउनेमाथि गुटबन्दी, पार्टी विभाजनको प्रयास तथा ‘निम्नपुँजीवादी अवसरवाद’ हुँदै ‘विसर्जनवादी प्रवृत्ति’ देखाएको आरोप लगाउँदै सुधारका लागि पटकपटक छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिइएको कञ्चन पक्षको दाबी थियो ।

तर, त्यसको भोलिपल्ट नै विशेष केन्द्रीय समिति बैठकबाट कञ्चनलाई अध्यक्ष मण्डलको अध्यक्ष तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएर दीपकलाई उक्त जिम्मेवारी दिइएको हो ।

नेकपा बहुमतले आगामी असोज ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय यथावत् रहेको जनाएको छ । बैठकले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि कृष्ण धमला ‘गम्भीर’को नेतृत्वमा उद्धार तथा राहत समिति गठन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।