
काठमाडौं – सति सिग्देल आफ्नी काकीकी छोरी (बहिनी) को खोजीमा काठमाडौंको एउटा अस्पतालको पर्खालमा दैनिक पुग्ने गर्छिन्, जुन पर्खालमा सयौं तस्बिरहरू टाँसिएका छन् । केही बेपत्ता भएका नातेदारहरूको तस्बिर छन् भने केही फेला परेका तर पहिचान खुल्न बाँकी शवहरूको तस्बिर हुन् ।
हिमनदी पतनका कारण आएको विनाशकारी बाढीमा परी १,२०० भन्दा बढी मानिसको ज्यान गएको छ भने ४,२०० भन्दा बढी बेपत्ता छन् । तिनै बेपत्तामध्येकी आफ्नी बहिनी स्वीटी पैठानको बारेमा केही खबर पाइन्छ कि भन्ने आशामा सिग्देल भौतारिरहेकी छिन् ।
“हामीले उनको तस्बिर टाँसेको तीन दिन भइसकेको छ, तर अहिलेसम्म कुनै खबर आएको छैन,” सिग्देलले भनिन् ।
विपद् आएको एक साताभन्दा बढी भइसकेको बेला जीवितै भेटिने आशा दिनप्रतिदिन क्षीण बन्दै गएको छ, यद्यपि सरकारले खोजी कार्यलाई निरन्तर जारी राखेको छ। जलविद्युत आयोजनाहरूमा करिब ९०० जना फसेको आशङ्का गरिएको छ ।

बुधबार साँझमा, पहाडी नेपालका विभिन्न स्थानबाट आएका केही मानिसहरू राजधानीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पर्खालमा टाँसिएका तस्बिरहरू ध्यानपूर्वक हेर्दै थिए र नजिकैका सुरक्षाकर्मीहरूलाई उनीहरूको नाम कतै सुनेका छन् कि भनेर सोधिरहेका थिए ।
“हामी चमत्कारको आशा गरिरहेका छौं,” आफ्ना मामाको परिवारका चारै जना सदस्य बेपत्ता भएपछि उनीहरूको खोजीमा रहेकी सपना न्यौपानेले भनिन् । “हजारौं तस्बिरहरूले भरिएको यो पर्खालअगाडि उभिएर हेर्नु मात्र पनि निकै कठिन छ ।”
केही तस्बिरहरू बेपत्ता व्यक्तिका विवरण र सम्पर्क नम्बरहरू मिहिनेतसाथ भरेर बनाइएका पोस्टरहरूमा टाँसिएका छन् भने अन्य केही तस्बिरमुनि हातैले विवरणहरू कोरिएका छन् ।
एउटा तस्बिरमा सँगै उभिएको एक जोडीको शिरमाथि ठूलो अक्षरमा ‘बेपत्ता’ लेखिएको छ । अर्को तस्बिरमा एक जना युवा देखिन्छन्, जसको पहिचानमा सहयोग पुगोस् भनेर बायाँ पाखुराको ट्याटुलाई नजिकबाट खिचेर राखिएको छ ।
बागमती नदीको किनारमा रहेको नजिकैको पशुपतिनाथ मन्दिरमा भने केही परिवारहरू आफ्ना आफन्तलाई खोज्दा नभेटेपछि अन्ततः आशा मारेर परालको पुत्ला जलाएर दाहसंस्कार गरिरहेका थिए ।
हिन्दू पुजारीले मन्त्रोच्चारण गरिरहँदा र अन्य मानिसहरूले उनका २१ वर्षीय नातेदार साबिनीको पुत्लामा पानी हालिरहँदा तापिन्द्रप्रसाद तिमिल्सिनाले भने, “यसले मेरो मुटुमा ठूलो भारी बोकाएको छ ।” सामान्यतया मृत व्यक्तिका लागि मात्र गरिने यस किसिमको अन्त्यष्टि संस्कारअनुसार चितामा आगो बाल्नुअघि उनले यस्तो बताएका हुन् ।
फेरि त्यही पर्खालतिर फर्कंदा, सिग्देलको भने सोमबारदेखि निरन्तर जारी राखिएको यो पर्खाइमा आशा अझै मरेको छैन ।
“म आफ्ना नातेदार र साथीहरूसँगै हरेक दिन यहाँ आउँछु, केही खबर पाइन्छ कि भन्ने आशमा,” उनले भनिन् ।
[सौरभ शर्मा र नपत वेस्सासार्तारद्वारा लिखित यस समाचार रोयोटर्समा प्रकाशित छ ।]