२ अर्ब २० करोड किलोभन्दा बढी गेग्रान थुप्रियो, उद्धार कार्यमा चुनौति यथावत्

राजेन्द्र भट्ट

काठमाडौं- गत साता भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा लेदोसहितको पहिरोले कम्तीमा २२ लाख टन ( २ अर्ब २० करोड किलो) गेग्रान, माटो र भग्नावशेष  थुपारेको बताइएको छ छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम  (युएनडिपी)द्वारा जारी प्रारम्भिक द्रुत मूल्यांकन प्रतिवेदनले यो तथ्य बाहिर ल्याएको हो।

लाङटाङ लिरुङ हिमालको ढलानबाट ठुलो मात्रामा बरफ र चट्टान खसेर तल रहेको ल्हेन्दे खोला मिसिएर, भोटेकोशी जलप्रवाहमा मिसिएको सो बाढीले प्रभावित क्षेत्रका बस्तीहरूमा पानी, हिलो र ठूला चट्टानहरू बगाएर ठूलो जनधनको क्षति पुर्याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक सूचना अनुसार बाढी तथा पहिरोका कारण मुलुकभर हालसम्म १,२५२ जनाको शव फेला परेको छ भने ४,२१६ जना अझै सम्पर्कविहीन रहेका छन्। यस भीषण विपद्मा परि ५,१३५ जना घाइते भएका छन् भने सरकारले ११,९९३ जनाको सफल उद्धार गरेको छ।

संकलित तथ्यांकअनुसार हालसम्म फेला परेका शवहरूमध्ये ९५ वटाको मात्र सनाखत भई सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ। त्यसैगरी, प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न स्थानमा स्थापित होल्डिङ सेन्टरहरूमा ३,९४८ जनालाई राखिएको छ।

युएनडीपीको प्रतिवेदन अनुसार यो बाढीले पहिले नै जोखिममा रहेका समुदायहरूलाई थप आक्रान्त बनाएको छ। प्रभावित क्षेत्रका करिब ७५ प्रतिशत मानिसहरू जीविकोपार्जन, आधारभूत सेवामा पहुँच र जीवनयापनका दृष्टिले पहिलेदेखि नै ठूलो कठिनाइ भोगिरहेका थिए।

नेपालका लागि युएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, “त्रिशूली करिडोरका बासिन्दाहरूका लागि यो एक अपूरणीय क्षति हो। परिवारले आफ्ना प्रियजन, घर र जीविकोपार्जनका साधन गुमाएका छन् भने सम्पूर्ण समुदायहरू आवश्यक सेवाहरूसँग पुन: जोडिन संघर्ष गरिरहेका छन्।”

लेदो र गेग्रान आएर बसेको बेत्रावती बजार/ तस्बिर: प्रकाश बिसी/दियोपोष्ट

लेदो र गेग्रानको विशाल थुप्रोले उद्धारमा कठिनाई

यस मूल्यांकनका लागि युएनडीपीले कोपर्निकस इएमएस र सर्टिटका उपग्रहमा आधारित घरधुरी क्षतिको तथ्यांकलाई अन्य स्थानीय इन्जिनियरिङ अनुमानहरूसँग संयोजन गरेको उल्लेख गरेको छ।

संकलित तथ्यांक अनुसार थुप्रिएको २२ लाख टन मलबेमध्ये करिब ५ लाख ५६ हजार २०० टन भवनहरूको भग्नावशेष मात्र रहेको छ (यो २,३५९ वटा क्षतिग्रस्त भवनहरूको उपग्रह विश्लेषणमा आधारित छ)। बाढीले बगाएर ल्याएको यो लेदोमा घरका सामानहरू, वनस्पति, चट्टान र गेग्रानहरू समेत सामेल छन्।

भग्नावशेष र हिलोको यो विशाल थुप्रोले उद्धार टोली र पीडित परिवारहरूलाई थप चुनौती खडा गरेको छ। भग्नावशेष र माटोको थुप्रोमुनि मानिसहरू अझै पनि फसेका वा बेपत्ता भएका कारण उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण र जटिल बनेको छ। बाढीले ऊर्जा क्षेत्रमा पुर्याएको क्षतिका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा जनजीवन थप कष्टकर बनेको छ।

आपतकालीन पुनर्लाभ र विकासका लागि सरकार तथा साझेदारहरूलाई समयमै सही तथ्यांक उपलब्ध गराउने उद्देश्यले युएनडीपीले यो ‘र्यापिडा’  मूल्यांकन विधि प्रयोग गरेको हो। प्रारम्भिक विवरणहरू आउने क्रममा रहेकाले यो तथ्यांक अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

सिफारिस