त्रिशूली थ्री ए को सुरुङ भित्रबाट फसेकाको आवाज आएको पुष्टि, सेना र सशस्त्रले दियो उद्धारलाई तीव्रता

दियोपोस्ट संवाददाता

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाभित्र फसेका व्यक्ति जीवित रहेको तथ्य खुलेको छ । शुक्रबार बिहान छोपिएको भागको ड्रिल गरी प्वाल बनाउँदा भित्रबाट मानिसको आवाज आएको पुष्टि भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपाली सेनालाई उदृत गर्दै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको पुष्टि गरेका हुन् । यति बेला नेपाली सेना र सशस्त्र प्रहरीबाट सुरुङको थुनिएको भाग हटाएर उद्धारको प्रयास भइरहेको छ ।

न्यौपानेले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’

न्यौपानेले अगाडि भनेका छन्, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु ।’

न्यौपानेले उद्धारमा खटिएका सबैलाई धन्यवाद दिँदै सकुशल उद्धारको सुखद खबर सुन्न आतुर रहेको समेत बताएका छन् ।

‘उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ ।’

सेना भन्छ, ‘हामी अहिलेनै केही बोल्दैनौ, एक सय मिटर भित्र पुगिसकेका छौँ’

यता नेपाली सेनाले उक्त सुरुङभित्र प्रवेश गर्न माटो पन्छाउने काम गरिरहेको पुष्टि गरे पनि उद्धारका सम्बन्धमा अहिले नै केही नबोल्ने बताएको छ ।

नेपाली सेनाका सूचना अधिकारीसमेत रहेका सहायक रथी राजाराम बस्नेतले आफूहरू अहिले सानो प्वाल बनाएर अगाडि बढिरहेको बताए । बस्नेतका अनुसार थुनिएको सुरुङभित्र नेपाली सेनाको टोली करिब एक सय मिटर भित्र पुगिसकेको छ ।

भित्र पुग्न कति समय लाग्छ भन्ने दियोपोस्टको प्रश्नमा बस्नेतले सुरुङ पुरै भरिएको र त्यहाँ भित्र वाटर जेट प्रयोग गरेर, खोतलेर अगाडि बढ्दै गरेको बताए । यद्यपि उनले मानिसको आवाज आएको वा नआएको सम्बन्धमा ‘हामीले केही बताएका छैनौँ’ भन्ने जवाफ दिए ।

यता ईञ्जिनियरसमेत रहेका रास्वपा तनहुँका सांसद श्रीराम न्यौपानेले दोस्रो अपडेट दिँदै भित्र र बाहिर कुराकानी भइसकेको बताएका छन् ।

न्यौपानेले भनेका छन्, ‘उद्धार कार्य अझै जारी रहेको छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’
यससँगै त्रिशूली थ्री ए मा फसेकाहरूको जीवितै उद्धार हुने सम्भावना बढेको छ । दुई वा दुईभन्दा बढी व्यक्तिहरूको आवाज सुनिएको पुष्टि भएसँगै नेपाली सेना र सशस्त्र प्रहरीले सुरुङभित्र थुनिएको लेदोलाई पन्छाउन तीव्र गतिका काम गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस