
काठमाडौँ । बिहीबार राति सङ्खुवासभाको मकालु गाउँपालिका १, चिर्खाङमा भएको शिक्षकको हत्यामा सोही विद्यालयमा काम गर्ने शिक्षिकाकी पति पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न रहेका आरोपमा ३३ वर्षीय पत्न कुलुङ राईलाई पक्राउ गरेको छ ।
बिहीबार साँझ करिब ७ बजेको समयमा स्थानीय कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नर कुबिर खम्बु राईको गोली हानी हत्या गरिएको थियो । सङ्खुवासभाकै सिलिचोङ गाउँपालिका ५, याफु स्थायी ठेगाना रही सोही विद्यालयमा बस्दै आएका करिब ३६ वर्षका राईमाथि खाना खाएर भाँडा धुन बाहिर निस्किएको बेला भरुवा बन्दुक प्रहार गरेर हत्या गरिएको थियो ।
बन्दुक पड्केको आवाज आएसँगै कहिलेकाहीँ सोही विद्यालयमा बस्ने शिक्षिका टिकामाया राईसमेत बाहिर निस्केर हेर्दा शिक्षक राई ढली शरीरबाट रगत बगिरहेको अवस्थामा देखेकी थिइन् । त्यसको केही समय पछि नै यसबारे प्रहरीलाई जानकारी आएको थियो ।
त्यस लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पछाडिको भागमा भरुवा बन्दुकबाट हानिएको गोलीको चोट फेला परेको थियो । त्यसपछि घटनाको थप अनुसन्धानका क्रममा शुक्रबार बिहान करिब ११ बजे सङ्खुवासभाकै मकालु गाउँपालिका १, सिउँडीबारीका करिब ३३ वर्षका पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरिएको थियो ।
आरोपितले भने, ‘श्रीमतीसँग लागेको शंका लागेपछि आवेशमा हत्या गरेको हुँ’
पक्राउ परेपछि आरोपित पत्न कुलुङ राईले आफ्नो अपराध कबुल गरेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा राईले शिक्षकमाथि गोली प्रहार गर्नुको कारण आफ्नो श्रीमतीसँग लागेको शंका भएको बताएका छन् ।
आरोपितको बयान उद्धृत गर्दै एक प्रहरीले भने, ‘मेरो श्रीमतीसँग लागेको शंका लागेको थियो, बिहीबार राति सँगै देखेपछि आवेगमा गोली हानेर हत्या गरेको हुँ ।’
प्रहरी स्रोतका अनुसार आरोपितका श्रीमती समेत सोही विद्यालयमा शिक्षिका थिइन् । ५ विद्यार्थी रहेको उक्त विद्यालयमा शिक्षिका पनि कहिलेकाहीँ बस्ने गरेकी थिइन् । शिक्षिकाको माइती पनि विद्यालयबाट नजिकै रहे पनि कहिलेकाहीँ विद्यालयमै बस्ने गर्थिन् । बिहीबार पनि शिक्षिका विद्यालयमै बस्न लागेकी थिइन् ।
तर आफ्नी श्रीमती र शिक्षक राईको चियोचर्चा गर्दै भरुवा बन्दुकसहित पुगेका पत्न कुलुङ राईले आवेगमा आएर शिक्षक नर कुबिर खम्बु राईमाथि गोली प्रहार गरी हत्या गरेका हुन् । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै ‘त्यसको पनि दिन बिग्रेको र आफू पनि आवेगमा आएको’ कारण हत्या भएको बताएका छन् ।
यद्यपि प्रधानाध्यापकसमेत रहेका शिक्षक राई र ती शिक्षिकाबिच प्रेम सम्बन्ध वा अवैध सम्बन्ध थियो कि थिएन भन्ने खुलेको छैन । प्रहरीले दियोपोस्टसँग भन्यो, ‘सम्बन्ध थियो कि थिएन भन्ने केही खुलेको छैन, तर आवेगमा आएर शंकाकै आधारमा हत्या भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दै छौँ ।’
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।