
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल औषधि लिमिटेडको अध्यक्षका रूपमा न्यौपानेको यो दोस्रो कार्यकाल हो । यसअघि उनले २०७९ देखि २०८२ सालसम्म कम्पनीको अध्यक्षका रूपमा पूर्ण कार्यकाल बिताएका थिए । पहिलो कार्यकालमा कमजोर आर्थिक अवस्थामा पुगेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालन र सुदृढीकरणको दिशामा अघि बढाउन भूमिका खेलेको श्रेय उनलाई दिइन्छ ।
यसपटक भने उनी खुला प्रतिस्पर्धाबाट सिफारिस हुँदै अध्यक्षमा नियुक्त भएका हुन् । फार्मास्युटिकल क्षेत्रमा लामो अनुभव हासिल गरेका न्यौपाने २०६८ देखि २०७२ सालसम्म नेपाल फार्मेसी परिषद्को अध्यक्षसमेत भइसकेका छन् ।
हुवासदेखि अन्तर्राष्ट्रिय फार्मास्युटिकल मञ्चसम्मः
पर्वतको हुवासमा जन्मिएका न्यौपानेको व्यावसायिक यात्रा ग्रामीण परिवेशबाट सुरु भएको हो । उनले पर्वतको त्रिवेणीस्थित श्री निर्मल जनसेवा माध्यमिक विद्यालयबाट २०३७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।
त्यसपछि ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसबाट २०३८ देखि २०४० सालसम्म आईएस्सी अध्ययन गरे। विज्ञान विषयप्रतिको रुचि र अध्ययनमा निरन्तरको मेहनतका कारण उनले उच्च शिक्षा अघि बढाउने अवसर पाए ।
२०४१ सालमा भारत सरकारको छात्रवृत्ति प्राप्त गरी इन्दौरस्थित कलेज अफ फार्मेसीबाट फार्मेसी विषयमा स्नातक गरे । भारतमा अध्ययन पूरा गरेपछि उनको व्यावसायिक यात्राले अन्तर्राष्ट्रिय आयाम लिन थाल्यो ।
सन् १९९१ देखि १९९३ सम्म उनले बेलायतको रोयल फार्मास्युटिकल सोसाइटी अफ ग्रेट ब्रिटेनबाट स्नातकोत्तर तहपछिको कार्यअनुभवसम्बन्धी तालिम लिए । त्यसपछि नेपाल फर्किएर औषधि तथा फार्मास्युटिकल क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाले ।
भक्तपुरस्थित होएक्सट नेपाल प्रालिमा उत्पादन अधिकृतका रूपमा काम गरेका उनले बेलायतमा समेत फार्मासिस्टका रूपमा काम गरे । सन् १९९३ देखि २००२ सम्म फार्मास्युटिकल कम्पनी अफ नेपालमा प्राविधिक निर्देशक तथा संस्थापक सदस्यका रूपमा काम गरे। उक्त कम्पनी हाल जेनेटिका ल्याबका रूपमा परिचित छ ।
त्यसपछि सन् २००२ देखि २००६ सम्म विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा जीएमपी परामर्शदाताका रूपमा काम गरे । यस क्रममा नेपालका निजी तथा औषधि उद्योगलाई उत्पादनको गुणस्तर सुधार र उद्योग स्तरोन्नतिका लागि समेत उनले परामर्श सेवा प्रदान गरे ।
सन् २००६ देखि २००९ सम्म फार्मा ट्रेड इन्टरनेशनल प्रा.लि. र हिमाल हर्बल प्रोडक्सन प्रा.लि.को प्रबन्ध निर्देशकका रूपमा काम गरेका न्यौपानेले गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा भूमिका निर्वाह गरे ।
त्यस्तै, सन् २००९ देखि २०१३ सम्म नेचुरल फ्लावर्स एन्ड हर्बल प्रालिको प्रबन्ध निर्देशक तथा प्राविधिक निर्देशकका रूपमा काम गरे । प्राकृतिक जडीबुटी प्रशोधन गरी औषधि उत्पादन गर्ने उक्त कम्पनीमा उनले कच्चा पदार्थको गुणस्तर, प्रशोधित उत्पादन, लेबलिङ तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापनजस्ता जिम्मेवारी सम्हालेका थिए ।
फार्मेसी क्षेत्रमा नीतिगत योगदानः
न्यौपाने नेपाल फार्मेसी परिषद्को अध्यक्षसमेत भइसकेका छन् । परिषद्को नेतृत्वमा रहँदा फार्मेसी शिक्षा, औषधि उत्पादन, वितरण, भण्डारण, उपभोग, आयात–निर्यात तथा मेडिकल प्रतिनिधिसम्बन्धी नीतिगत विषयमा काम गरेको सामग्रीमा उल्लेख छ ।
उनको कार्यकालमा फार्मेसी लाइसेन्स परीक्षाको व्यवस्था सुरु भएको र यसले फार्मेसी शिक्षा तथा जनशक्तिको गुणस्तर सुधारमा प्रभाव पारेको दाबी गरिएको छ ।
नेपाल फार्मास्युटिकल एसोसिएसनमा महासचिवका रूपमा समेत काम गरेका न्यौपाने संस्थाका आजीवन सदस्य हुन् । उनी ग्राजुएट फार्मासिस्ट एसोसिएसन अफ नेपालका आजीवन सदस्य तथा नेपाल फार्मेसी परिषद्का दर्ताप्राप्त वरिष्ठ सदस्यसमेत रहेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा पनि उनले विभिन्न तालिम, सम्मेलन तथा व्यावसायिक छलफलमा सहभागिता जनाएका छन् । सन् १९९७ मा इन्डोनेसियाको जाकार्तामा डब्लूएचओले आयोजना गरेको औषधि उत्पादनसम्बन्धी अडिटर तथा इन्स्पेक्टर तालिममा नेपाल सरकारको मनोनयनमा सहभागी भएका थिए । सन् २०१२ मा मलेसियामा भएको एशिया–प्रशान्त औषधि सम्मेलनमा पनि उनले सहभागिता जनाएका थिए ।
नेपाल औषधि लिमिटेडमा पहिलो कार्यकालः
नेपाल औषधि लिमिटेडको अध्यक्षका रूपमा पहिलो कार्यकालमा न्यौपानेले कम्पनीको संस्थागत तथा उत्पादन क्षमतामा सुधार ल्याउने प्रयास गरेका थिए ।
कम्पनीलाई पहिलोपटक जीएमपी प्रमाणपत्र प्राप्त गराउन रणनीतिक नेतृत्व प्रदान गर्नुका साथै उत्पादन विविधीकरण, गुणस्तर सुधार र बजार विस्तारमा भूमिका खेलेको सामग्रीमा उल्लेख छ ।
कुनै समय कमजोर आर्थिक अवस्थाका कारण अस्तित्वकै चुनौतीमा रहेको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक रूपमा सबल बनाउने प्रयासका कारण उनको पहिलो कार्यकाल चर्चामा आएको थियो ।
अब दोस्रो कार्यकालमा उनलाई कम्पनीको उत्पादन क्षमता विस्तार, गुणस्तर कायम, व्यावसायिक प्रतिस्पर्धा र सरकारी स्वामित्वको औषधि उद्योगलाई दिगो बनाउने चुनौती छ ।
राजनीतिक सम्बन्धः
न्यौपानेको व्यावसायिक परिचयसँगै राजनीतिक क्षेत्रमा पनि सम्बन्ध रहेको सामग्रीमा उल्लेख छ । विद्यार्थीकालमा नेपाल विद्यार्थी संघमा आबद्ध रहेका उनी नेपाली कांग्रेससँग नजिक रहेका व्यक्ति हुन् ।
यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा नेपाल फार्मेसी परिषद्को अध्यक्ष तथा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल औषधि लिमिटेडको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालासँग उनको निकट सम्बन्ध रहेको र विभिन्न राजनीतिक दलका नेताहरूसँग समेत उनको सम्बन्ध रहेको दाबी सामग्रीमा गरिएको छ ।
यद्यपि, औषधि तथा फार्मेसी क्षेत्रमा लामो व्यावसायिक अनुभव बोकेका न्यौपानेको नयाँ कार्यकाललाई राजनीतिक पृष्ठभूमिभन्दा पनि नेपाल औषधि लिमिटेडलाई व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने क्षमताको आधारमा मूल्यांकन गरिनेछ ।
सरकारी स्वामित्वको औषधि उद्योगका रूपमा नेपाल औषधि लिमिटेडले बजारमा आफ्नो प्रभाव विस्तार गर्न नसकेको अवस्थामा दोस्रोपटक नेतृत्वमा फर्किएका न्यौपानेसामु पहिलो कार्यकालका उपलब्धिलाई संस्थागत गर्दै दीर्घकालीन रूपमा कम्पनीलाई आत्मनिर्भर बनाउने चुनौती हुनेछ ।