बाढीपहिरोको जोखिम : बैतडी र दार्चुलामा २४ घण्टा सवारीसाधन सञ्चालनमा रोक

दियोपोस्ट संवाददाता

बैतडी । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका दुई पहाडी जिल्ला बैतडी र दार्चुलामा  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले शनिबार बिहान ६ बजेदेखि आइतबार (भोलि) बिहान ६ बजेसम्मका लागि २४ घण्टा जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुलालाई अधिक वर्षा र विपद्को उच्च जोखिमयुक्त जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । सोही चेतावनीपछि सम्भावित क्षति रोक्न स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधन नचलाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।

बैतडीमा शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ भने दार्चुलालाई ‘अति जोखिम’ वर्गमा राखिएकाले पूर्वसावधानी स्वरूप सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।