म्यान्मारमा सेनाको हवाई हमलाः ४९ जना विद्रोहीको मृत्यु, ५८ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूह अराकान आर्मी (एए)को नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोमबार रखाइन राज्यको क्याउक्ताव टाउनसिपस्थित बजार क्षेत्रनजिक म्यान्मार सेनाको लडाकु विमानले दुईवटा बम खसालेको अराकान आर्मी र स्थानीय उद्धारकर्मीहरूले बताएका छन् । आक्रमणका बेला बजारमा व्यापारी, सामान खरिद गर्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

स्थानीय उद्धार अधिकारीका अनुसार आक्रमणबाट बजार तथा आसपासका संरचनामा ठूलो क्षति पुगेको छ । घटनास्थलका तस्बिर तथा भिडियोमा भवनहरूमा आगलागी, क्षतिग्रस्त सवारीसाधन र नजिकैको पुलमा समेत क्षति पुगेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरुमा अराकान आर्मीले ३३ जनाको मृत्यु र ३६ जना घाइते भएको जनाएको थियो । तर घाइतेको उद्धार र भग्नावशेषबाट शव निकाल्ने क्रमसँगै मृतकको संख्या बढेर ४९ पुगेको हो । अझै केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या थप बढ्न सक्ने आशंका गरिएको छ ।

अराकान आर्मीले यो आक्रमणको कडा विरोध गर्दै जिम्मेवार व्यक्ति तथा संस्थाविरुद्ध ‘प्रभावकारी प्रतिशोधात्मक कदम’ चाल्ने चेतावनी दिएको छ ।

म्यान्मारको सेनाले भने तत्काल घटनाबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि सेनाले विद्रोही समूहविरुद्ध गरिने हवाई आक्रमण सैन्य लक्ष्यमा केन्द्रित रहेको दाबी गर्दै आएको छ । तर रखाइनसहित म्यान्मारका विभिन्न क्षेत्रमा सेनाले सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा समेत हवाई हमला गरेको भन्दै मानवअधिकार समूहहरूले आलोचना गर्दै आएका छन् ।

अराकान आर्मीको बढ्दो नियन्त्रण

रखाइनमा पछिल्लो समय म्यान्मार सेना र अराकान आर्मीबीचको संघर्ष झन् तीव्र बनेको छ । २०२३ नोभेम्बरमा ठूलो सैन्य अभियान सुरु गरेको अराकान आर्मीले रखाइनका १७ मध्ये १४ वटा टाउनसिपमा रणनीतिक नियन्त्रण कायम गरेको अलजजिराले जनाएको छ ।

अराकान आर्मी रखाइनको जातीय अल्पसंख्यकका लागि स्वायत्तताको माग गर्दै आएको शक्तिशाली जातीय सशस्त्र समूह हो । म्यान्मारमा सन् २०२१ को सैन्य ‘कू’ पछि सैन्य शासनविरुद्धको विद्रोह र जातीय सशस्त्र समूहहरूको संघर्ष देशका धेरै क्षेत्रमा फैलिएको छ ।

संघर्षका कारण रखाइनमा मानवीय संकटसमेत गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार रखाइनमा करिब पाँच लाख मानिस विस्थापित भएका छन् । सेनाले व्यापारिक मार्गमा लगाएको कडा प्रतिबन्ध र लामो समयदेखिको द्वन्द्वका कारण खाद्यान्न अभावसमेत बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्याउक्तावमा भएको पछिल्लो हमला त्यसै संकटको बीचमा भएको हो । लडाइँको अग्रपंक्तिभन्दा टाढा रहेको बजार क्षेत्रमा सर्वसाधारणको ठूलो जमघट भएको समयमा भएको यो आक्रमणले म्यान्मारको द्वन्द्वमा नागरिक सुरक्षाको प्रश्नलाई फेरि गम्भीर बनाएको छ ।

सम्बन्धित खबर

सिफारिस