बागलुङमा बाढी-पहिरोका कारण १२ जनाको मृत्यु, एक बेपत्ता

दियोपोस्ट संवाददाता

बागलुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले बागलुङमा ठूलो जनधनको क्षति गरेको छ । जिल्लाका विभिन्न स्थानमा घर तथा संरचना पहिरोले पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो घटनामा ताराखोला गाउँपालिका-५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका-२ की ७९ वर्षीय नरमाया रोका छन् ।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार अविरल वर्षापछि जिल्लाका विभिन्न क्षेत्रमा आएको विपद्मा परी मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

यसअघि शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन् ।

त्यस्तै, निसीखोला गाउँपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरो जाने क्रम नरोकिएकाले थप क्षतिको जोखिम कायमै छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

 

सम्बन्धित खबर

सिफारिस