काठमाडौँ, भदौ २० । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सिंगापुरबाट फर्कने बित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल शुक्रबार दिउँसो बालुवाटार आएका हुन् ।
भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीबारे जानकारी लिएका थिए । प्रचण्डले पार्टीको पछिल्लो राजनीतिक गतिविधि, सक्किएको काम र बाँकी रहेको कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीेका सचिवालयले जानकारी दिएको छ ।
आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए।
प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए। यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए।
दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।