मेलम्ची, भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले सीएमसी कम्पनीका पीडितहरूले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गर्दै प्रदर्शनमा उत्रेकाहरूलाई जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यलय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै त्यस्तो निषेधाज्ञा जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३(क) बमोजिम आजदेखि अर्काे आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको हो ।
त्यस्तै अम्बाथान स्थानीय कार्यालयको पूर्व सामुदायिक वन, पश्चिम मेलम्ची खोलाको पहरो, उत्तर पार गाउँ जाने बाटो र दक्षिणमा तीम्बु खोला वरपर २०० देखि ५०० मिटरसम्म आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
मेलम्ची खानेपानी स्थानीय कार्यालयको पूर्वमा इन्द्रावती खोलाको बगर, पश्चिममा श्री नं. २ जगदल गण, ब्यारेक कार्यालय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालवेशी चोकसम्म २०० देखि ५०० मिटर हिजो ३ बजेदेखि अपराह्न ५ बजेसम्म र आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
त्यस्तै ग्याल्थुम सुरुङ पूर्व भुसुने पाखो, पश्चिम ग्याल्थुम खोला, उत्तर लाभ गाउँ र दक्षिण खरभूजे चोकमा २०० देखि ५०० मिटर बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
ग्यालथुम सुरुङ जाने बाटोमा पूर्व थापाटोल लाभ गाउँ, पश्चिम साल्मेचोक, उत्तर चिलौने बस्ती र दक्षिण सन्धिुखोलामा २०० देखि ५०० मिटर भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki