के हो देविघाट पुल बेचिएको वास्तविकता ? वडाध्यक्ष भन्छन, ‘हामीबिरुद्ध नियोजित रुपमा अफवाह फैलाइयो’

दियो पोस्ट  

दियोपोस्ट संवाददाता

काठमाडौँ, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाका वडाध्यक्षले आफुहरुविरुद्ध नियोजित रुपमा पुल बेचेर खाएको आरोप लगाइएको बताएका छन् । विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले देविघाटको पुलको विषयमा विभिन्न संचारमाध्यमहरुले दुष्प्रचार गरेको बताएका हुन् ।

गत भदौ २० मा राष्ट्रिय समाचार समिति (रासस)ले सार्वजनिक गरेको समाचारलाई विभिन्न संचारमाध्यमहरुले वास्तविकता नबुझी सम्प्रेषण गरेको भन्दै दुई वडाध्यक्षहरुले आपत्ती जनाएका छन् । जिर्ण अवस्थामा रहेको पुललाई प्रकृयागत ढंगले व्यवस्थापन गरिएको उनिहरुको दावि छ ।

विदुर नगरपालिकाका वडाध्यक्ष चित्रकारले आफु वडाध्यक्ष बनेपछि वडामा विभिन्न गैरकानुनी धन्दा चलाउँदै आएका व्यक्तिहरुको सम्पुर्ण धन्दा चौपट भएपछि उनिहरु नियोजित रुपमा आफ्नो विरुद्धमा लागेको स्पष्टीकरण दिएका छन् । आफ्नो सक्रियतामा वडा क्षेत्रमा रहेको नदिबाट अवैध रुपमा बालुवा तस्करी गर्दै आएका गिरोहहरुलाई निष्कृय पारेपछि उनिहरु आफुविरुद्ध अफवाह फैलाउन उद्वेलित भएको वडाध्यक्ष चित्रकारले बताए ।

त्यस्तै वेलकोटगढी नगरपालिकाका–८ वडाध्यक्ष भोजप्रसाद पुडासैनीले जिर्ण अवस्थामा रहेको पुलको व्यवस्थापन गर्नका लागि स्थानियहरु संग छलफल गरिएको र सोही छलफलले गरेको निर्णयअनुसार नै पुलको भौतिक संरचनाहरुलाई बिक्री गरिएको बताए । पुल जिर्ण भएपछि त्यहाँ रहेका फलामे डण्डी तथा तारबारहरुलाई कवाडीमा बिक्री गरिएको र विक्रीबाट आएको रकम दुवै वडाको खातामा बराबर गरि जम्मा गरिएको समेत बताएका छन् ।

पुल बेचेर खाएको आरोप लागेपछि दुबै वडाको वडाध्यक्षहरुले स्थानियहरुको उपस्थितिमा वास्तविकता समेत सार्वजनिक गरेका छन् । भेलामा दुवै वडाध्यक्षहरुले जीर्ण अवस्थामा रहेको पुलको भौतिक सामाग्रीहरु ७० हजार रुपैयाँमा बेचिएको र सो रकम दुवै वडा कार्यलयको खातामा आधाआधा जम्मा गरिएको बताए ।

स्थानिय तहको गठन भएसँगै निर्वाचित भएका वडा अध्यक्ष शिवकुमार चित्रकारले वडामा सक्रियताका साथ विभिन्न जनमुखी कामका साथै अवैध नदी दोहनलाई रोक्न सक्रिय भएका थिए । लामो समयको प्रयासपछि वडा क्षेत्रमा पर्ने तादी खोलामा वालुवा डोजर प्रयोग गरी वालुका झिक्ने र बिक्री गर्ने तस्करहरुको धन्दालाई नियन्त्रण गर्न प्रहरीको सहयोगमा वडा अध्यक्ष चित्रकारले पहलकदमी लिएका थिए । सोही क्रममा मध्यराती तादीपुल क्षेत्रमा स्काभेटर लगाएर खोलाबाट वालुवा झिकिरहेको अवस्थामा प्रहरीले स्काभेटरसहित तीन जना व्यक्तिलाई पक्राउ गरी मुद्धा चलाएको थियो भने केही तस्करहरु वालुवा उत्खनन् गर्दागर्दा फरार भएका थिए ।

यसै क्रममा केही दिनपछि तस्करमै संलग्न व्यक्तिहरुमार्फत् अध्यक्ष चित्रकार र पुडासैनीलाई जोडेर पुल बेचिएको समाचार सार्वजनिक भएको वडाध्यक्षद्धय र दुवै वडाका स्थानियहरुले खुलासा गरिरहेका छन् । उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘आफ्नो व्यक्तिगत स्वार्थ र गैरकानुनी धन्दामा धक्का लागेपछि हाम्रो व्यक्तिगत तथा संस्थागत चरित्रमाथी हिलो छ्याप्नु, मानमर्दन र अनर्गल प्रचार गरिनु पत्रकारिताजस्तो आम जनतालाई सत्य, तथ्य र सन्तुलित रुपमा समाचार मार्फत् सुसुचित गराउने पवित्र पेशाकै मूल्य, मान्यता र आदर्शको बर्खिलाप भएको हाम्रो ठहर छ ।’

वडा अध्यक्ष चित्रकार र पुडासैनीका अनुसार केही वर्षदेखि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेँशी–रसुवागढी सडक आयोजनाले सडक विस्तार तथा स्तरोन्नतिका क्रममा निर्माण कार्य सुरु गरेपछि विदुर नगरपालिका वडा नं. ५ र बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित तादी खोलामा रहेको वर्षाैँ पुरानो झेलुङ्गे पुल जिर्ण भई भत्किनुका साथै पक्की पुल निर्माण पश्चात् नै यो प्रयोगबिहिन हुँँदै आएको थियो । सडक आयोजनाले सडक विस्तारको क्रममा पुल काटेर सोही स्थानमा सडक पर्खाल निर्माण थालेको छ । भत्किएको पुलका कारण त्यस क्षेत्रमा भद्रगोल भई पुलका लठ्ठा, फलामका कारण बाटोक्षेत्र अवरोध हुनुका साथै नदी क्षेत्र समेत प्रदुशित हुँदै आएको थियो । जसका कारण स्थानीयहरुको अनुरोधमा विदुर नपा ५ र बेलकोटगढी नपा ८ दुवैबीच आपसी छलफल र समन्वय गरी वडा सदस्यहरु र स्थानिय उपभोक्ता तथा सरोकारवाला सहित बसेर पुलका लठ्ठा, फलाम लगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका थिए ।

प्रयोगबिहिन र अलपत्र परेका सो सामग्रीलाई बोलकबोलका आधारमा बिक्री गरिएको उनीहरुले बताएका छन् । स्थानियवासीहरुको रोहवरमा कबाडीको रुपमा ७० हजार रुपैयाँमा बिक्री गर्ने सहमति भएको बताइएको छ । ‘यस सहमतिमा विदुर नगरपालिकाका प्रमुख र बेलकोटगढी नगरपालिकाका प्रमुखको राय, अनुमति लिएको हौँ’, वडा अध्यक्ष चित्रकार र पुडासैनीले भने । उक्त सामग्रीको बिक्रीबाट प्राप्त रकम दुवै वडाको खातामा कानुनी रुपमा बराबर दाखिला भएको बैँक भौचर समेत प्रमाणको रुपमा सार्वजनिक गरेका छन् ।

गैरकानुनी धन्दालाई नियन्त्रण गर्न सक्रियता देखाएपछि आफुहरुबाट आत्तिएका तस्करहरुले नियोजित रुपमै बनावटी आरोप पत्रकारिताको नामबाट लगाएर चरित्रहत्या गरी बदनाम गराउने सुनुयोजित योजना र षड्यन्त्र भइरहेकोले यस्ता गलत प्रचारको पछि नलाग्न वडावासी र सञ्चार क्षेत्रसँग उनीहरुले आग्रह गरेका छन् । यस्ता प्रचारबाट बिचलित नभई सधैँ जनताको सेवामा इमान्दारिताका साथ लागिरहने चित्रकार र पुडासैनीले प्रतिवद्धतासमेत जनाएका छन् ।

TATA ADD