गजुरीको जंगलमा तीन दिनको शिशु छाडेर आमा नै फरार, प्रहरीले भेट्टायो टालो !

Diyo post  

तस्विर गुगलबाट लिइएको हो । यो तस्विरको समाचारसँग कुनै सम्बन्ध छैन ।

दियोपोस्ट संवाददाता


धादिङ, ३० भदौ । गत भदौ १९ गते जिल्ला अस्पताल धादिङमा जिल्लाकै निलकण्ठ नगरपालिका ७ निवास्वराँकी मखमली थापा आफ्नो पेटमा रहेको गर्भ प्रसुती (डेलीभरी) गराउन पुगीन् । ३५ वर्षिय थापाको गर्भबाट जिल्ला अस्पताल धादिङमै छोरा जन्मियो ।

तर साल नाल काट्न गाह्रो भएपछि जिल्ला अस्पताल धादिङले १९ गते नै स्त्रीरोग तथा प्रसुती अस्पताल थापाथलीमा सिफारिस ग¥यो । सोही दिन थापाथली पुगेकी उनलाई २ दिनसम्म राखेर पूर्ण रुपमा स्वस्थ रहेको बच्चासहित २२ गते विदाई गर्यो ।


चार सन्तानकी आमा रहेकी मखमलीको भर्खरै जन्मीएको शिशुसँगै अर्को सन्तान पनि काखमै थियो । एम्बुलेन्समा काठमाडौंबाट धादिङवेशी तर्फ लागेकी उनले पृथ्वीराजमार्ग स्थित धादिङको गजुरी नजिकै जंगलमा पुगेपछि चालकलाई शौच लागेको बताइन् ।


चालकले जंगलबीचमा एम्बुलेन्स रोके । चालक सिटमै थिए । निकैबेर हराएकी उनी एम्बुलेन्समा फर्किइन् ।

उनको काखमा शिशु भए नभएको चालकले हेक्का राखेनन् हुँकिए राजमार्ग हुँदै निवस्वाँरा तर्फ । केही बेरको यात्रापछि गाडी निवास्वाँरा पुगेपछि गाडी रोकियो ।

उनी आफ्नो घरमा पुगीन घरमा अन्य ३ सन्तान पनि थिए । चार सन्तानकी आमा मखमलीको श्रीमान केही वर्षअघि नै वितेका थिए ।


घर पुगेकी मखमलीको काखमा भर्खरै जन्भिएको शिशु थिएन । गाउँलेहरुले ‘शिशु खोजे’ तर मखमलीले जवाफ दिइनन् । गाउँलेले प्रहरीलाई खबर गर्यो ।

मखमलीलाई शनिबार नै जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गर्यो । प्रहरीले मखमलीलाई पक्राउ गरेपछि घटनाको अर्को पोल खुल्यो ।
गजुरीस्थित नेपाली सेनाको ब्यारेक अगाडीको भिषण जंगलमा शौच गर्न निष्केकी मखमलीले तीन दिनको आफ्नो शिशुलाई जंगलमै छोडेर अएकी रहिछन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राजकुमार बैदवारका अनुसार मखमलीलाई प्रहरीले पक्राउ गरी शिशु हत्याको अभियोगमा अनुसन्धान गरिरहेको छ । उनले आफ्नो गर्भमा कसको सन्तान रह्यो भनेर खुलेर बयान दिएकी छैनन् । तर, प्रहरीले उनले शिशु छाडेको ठाउँमा शिशु खोज्ने क्रम जारी राखेको छ ।


‘हामीले विभिन्न टोली परिचालन गरेर शिशु खोजि रहेका छौँ । हालसम्म शिशुको टालो मात्रै भेटिएको छ,’ प्रहरी प्रमुख बैदवार भन्छन्,‘हामी अनुसन्धानमै छौँ । बच्चा कसैले देखेर लगेको पनि हुनसक्छ ।’


जिल्ला अस्पताल धादिङका मेडिकल रेकर्डर विक्रम विश्वकर्माका अनुसार महिलालाई जिल्ला अस्पतालले थप उपचारका लागि स्त्रीरोग तथा प्रसुती सेवा अस्पताल थापाथलीमा रिफर गरेको थियो । तर, घटनाले नयाँ मोड लिएपछि शिशुकै आमालाई प्रहरीले पक्राउ गरी स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए ।

सम्बन्धित खबर