काठमाडौँ, भदौ ३१ । मंगलबार मौसममा आएको खराबीका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको छ । बिहान ८ बजे लुक्लाबाट उडेका विमानहरु समयमै त्रिभुवन विमानस्थल अवतरण गर्न सकेनन् ।
काठमाडौँको भिजिबिलिटी अत्यन्तै न्यून भएपछि सबै विमानहरुलाई सुरक्षित स्थानमा रोकिन निर्देशन दिइएको थियो । बिहानको समयमा चारवटा हेलिकप्टरहरु काभ्रेमा आकस्मिक अवतरण गराइएको थियो । दिउँसो पनि मौसम सामान्य नरहेपछि लुक्लामा करिब ३ सय यात्रुहरु अलपत्र परेका छन् ।
केही यात्रुहरु लिएर काठमाडौँ आएका विमानहरु बिचमै आकस्मिक अवतरण गर्नुपर्ने भयो । सिम्रिक एयरका तीन तथा अल्टिच्युड एअर , कैलाश एअर , एअर डाइनास्टी, श्री एअर, मनाङ एअर र फिस्टेल एअरका एक–एक हेलिकप्टर विभिन्न ठाउँमा रोकिएका थिए ।
बिरामी लिएर काठमाडौँका लागि उडेका विमानहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा बिरामीहरु अलपत्र परेका छन् । सोलुखुम्बुमा बिरामी परेका एक दर्जन पर्यटक लिएर काठमाडौँ उडेको एअर डाइनास्टी र कैलाश एअरका हेलिकप्टर अझै काठमाडौँ आइपुग्न नसक्दा बिरामीको अवस्था अझै नाजुक भएको बताइएको छ ।
सोलुखुम्बुमा केन्याबाट आएका एक दर्जन पर्यटकहरु बिरामी परेर एक गेस्ट हाउसमा रोकिएका थिए । उनिहरुमध्य ३३ बर्षीय गोबिन्द लखमनको भने मृत्यु भइसकेको छ । सोही मृतक ब्यक्ति र अन्य बिरामी बोकेर आएका हेलिकप्टर मौसम खराबीका कारण काठमाडौँ अवतरण गर्न नसकेका हुन् ।
हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले मौसम सहज नभएसम्म सम्पुर्ण विमानहरुलाई सुरक्षित स्थानमा अवतरण गरेर रोकिन निर्देशन दिएको बताएका छन् ।