रीता बुढाथोकी
काठमाडौँ । रातभरि ज्वरो र झाडा वान्ताले छोरा सिकिस्त थिए । युवराज काफ्ले दम्पती छोराको अवस्थाका कारण रातभर चैनको निद्रा सुत्न सकेनन् । राजधानीको गोंगबुमा डेरा गरि बस्ने उनीहरु उज्यालो भएसंगै छोरालाई अस्पताल लैजाने तरखरमा थिए । चिया खाजा खाइवरी घरबाट निस्किदाँ बिहानको ८ बज्यो । बिरामी छोरालाई काखमा च्यापेर उनीहरु गोंगबु बसपार्कबाट साझा यातायातमा चढे ।
चक्रपथ पुगे पछि बसबाट अेर्लिन भन्दै सहचालकले उर्दी जारी गरे । टिचिङ्ग जानु पर्ने यात्रु चक्रपथमै ओर्लिनु पर्ने भएपछि यात्रुमा अन्यौलता छाएको थियो । सहचालकले टिचिङ्गपट्टि जाने यात्रीलाई चक्रपथमै ओराले । बस चावहिलको रुटतर्फ अगाडी बढ्यो । काफ्ले दम्पतीले केही बुझ्न सकेनन् । आफुहरुलाई के कति कारणले बीचमै आरालियो भन्ने बारेमा उनीहरु अनविज्ञ थिए । बीचैमा कोही बोल्यो, “आज सवारी छ रे !”
छोरालाई अस्पतालमा पुर्याउन हतारिएका उनीहरु ‘सवारी’का कारण गन्तव्यसम्म पुग्न नपाएकोमा दुखी थिए । बिरामी छोरा काखमा बोकेर उनीहरु पैदल हिँडेर अस्पताल पुगे । उनीहरु मात्र होइन, अन्य यात्रुहरु पनि राष्ट्रपति सवारीका नाममा अन्यौलतापूर्ण पैदल यात्रा गर्न वाध्य थिए । सवारीका कारण बुढाबुढी, गर्भवती, बच्चाका आमाहरु र केटाकटीहरु हिँड्नु परेकोमा अस्थब्यस्थ देखिन्थे ।
सन्दर्भ, संबिधान दिवस २०७६ ।
संबिधान दिबसको उपलक्ष्यमा देश भरि बिभिन्न कार्यक्रम आयोजना गरिएको थियो । संबिधान दिवसकै अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले संबोधन गर्ने कार्यक्रम थियो । ९ बजे राष्ट्रपतिको सवारी हुने भएकाले चक्रपथ, टिचिङ्ग तथा लाजिम्पाट सडकमा बिहान ७ बजेदेखि नै प्रहरी तैनाथ थिए । फाट्ट फुट्ट मोटर साइकल, ट्याक्सी, कार जस्ता साना सवारी साधन गुडेका भए पनि ठुला बस तथा भाडाका गाडीमा बिहानैदेखि पूर्ण प्रतिवन्ध लगाईएको थियो । यात्रुहरु गन्तव्यसम्म पुग्नका लागि पैदल यात्रा तय गरिसकेका थिए । ८ बजेपछि सडक पेटीका यात्रुलाई पनि हटाइयो । बलजफ्ती यात्रुलाई पेटीबाट समेत हटाइएको भन्दै यात्रुहरु रुष्ट थिए ।
‘सवारी’ समस्या बिगतदेखि वर्तममानसम्म राजधानीबासीले बेला मौकामा भोग्दै आएको समस्या हो । नेपालका उच्च ओहोदाका ब्यक्तिलाई राजकीय सम्मानसहित सडक नै जाम गराएर सवारी गराउने प्रचलन नयाँ होइन । बिदेशी राष्ट्र प्रमुखको भ्रमण होस् या राष्ट्रपतिको सवारी, राजधानीका मुख्य सडकमा घण्टौसम्म सवारी जाम गराएर उच्च तहका ब्यक्तिका लागि सडक खाली गराइन्छ । यो प्रबृत्ति जहाँनीया राणा शासनमा मात्रै होइन निरंकुश राजतन्त्रमा पनि यथावत थियो । तर, समय अन्तारलसंगै परिबर्तित समयमा पनि नेपाली जनताले त्यही समस्या भोग्नु परेकोप्रति नेपाली जनता आक्रोशित छन् ।
वर्तमान गणतन्त्रात्मक मुलुकमा राजतन्त्रकै झल्को दिने घटनाक्रम दोहोरिनु आफैमा बिडम्वना हो । यसकारण पनि नेपालको राज्य सत्ताप्रति नेपाली जनतामा एक किसिमको बितृष्णा पैदा भएकोे छ । राष्ट्रपति सवारीका कारण झमेला भोग्नु परेका कारण “जुनै जोगी आए नि कान चिरेका” भन्ने उखानलाई उजागर गराईदिएको छ ।
अहिलेको परिवर्तित ब्यवस्था त्यसै आएको होइन । नेपालमा गणतन्त्र स्थापनार्थ हजारौँ नेपाली आमाका बीर सन्तानहरुले आफ्नो ज्यानको आहुती दिएका थिए । तिनै शहिदहरुको रगतको थोपाबाट जन्मेको होे गणतन्त्र । तर, त्यही गणतन्त्रका राष्ट्रपतिले राजा महाराजाकै शैली अपनाउनु कत्तिको जाहेज हुनसक्छ? वास्तवमा यो आजको वहसको बिषय पनि हो । राष्ट्रपति तथा उच्च तहका ब्यक्तिको सवारीका कारण जनताले भोग्नु परेको सास्ती अवर्णनीय छ । यही ब्यवहार र प्रबृत्तिकै कारण जनतामा निराशा छाउनु स्वभाविकै पनि हो । देश संघीय गणतन्त्रात्मक मुलुकका रुपान्तरण भइसक्दा पनि ब्यबहारतः राजतन्त्र यथावत छ भन्दा फरक नपर्ला । जुनसुकै ब्यवस्थामा पनि कार्यशैलि र अवस्था पुरानै दोहोरिनु तथा परिवर्तनको आभास गर्न नपाउनु सम्पर्ण गणतन्त्र प्रमीको दुर्भाग्य पनि हो ।
जनताले ल्याएको परिवर्तनमा उनै जनतालाई सौतेलो ब्यवहार गरिनुले राज्यसत्ता प्रति जनताको बितृष्णा पैदा भएको छ । जनताहरु राणा विरूद्ध लडे, राणाहरु सत्ताच्यूत भए । पञ्चायतविरूद्ध लडे, पन्चेहरु च्यूत भए । जनयुद्ध लडे, १९ दिने जन आन्दोलन पनि गरे, र राजतन्त्रलाई घुँडा टेकाए । तर, ब्यबहारमा अझै पनि राजतन्त्र ज्यूँदैछ भन्ने भन्ने कुराको झल्को राष्ट्रपतिको सवारीले झल्काएको छ ।
यस्ता कैँयौ आन्दोलनमा सहभागी भएर परिवर्तन ल्याएका जनताहरु परिवर्तनका भागिदार हुन सकेका छैनन् । परिवर्तनका लागि लड्ने हजारौं हजार नेपाली जनताले ज्यान गुमाएका छन् । लाखौं अंगभंग भएका छन् । लाखौँ साना नानीहरू टुहुरा भएका छन् । हजारौँ आमाहरूको काख रित्तिएको छ । कैयौँ चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर, पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् ।
कर्णालीका जनता अहिले पनि नुन नपाएर अलिनो अवस्थामा छन् । दलितहरु अहिले पनि अछुत छन् । मधेसका मुसहर, चमारहरूले राज्यको अनुभुति गर्न पाएका छैनन् । युवाहरूले आफ्नै देशमा बेरोजगार भई बिदेश पलायन हुने क्रममा छन् । महिला आफ्नै घरमा असुरक्षित छन् ।
नेपाली नागरिकले न्याय, शान्ति, सुरक्षा र समृद्धि खोजिरहेका छन्ं । तर, जनताको आशा निराशामा बदल्ने खालको हर्कत उनै जनताले गद्धीमा पुर्याएका ब्यक्तिबाट भइरहेको छ । हिँजो, राणाहरु ढाल्ने, राजतन्त्रको समुल नष्ट गर्ने, थुप्रै परिवर्तनमा सहभागि हुने नेपाली जनताहरु अहिलेका वर्तमान व्यवस्थाकै विरुद्ध आन्दोलनमा उत्रन सक्दैनन् भन्न सकिँदैन । राष्ट्रपति, प्रधानमन्त्री जस्ता उच्च पदस्थहरुबाटै गणतन्त्रको मजाक नगरिदिए गणतन्त्र संस्थागत हुने थियो ।