काठमाडौँ, असोज १० । यातायात व्यवस्था विभागले दशैँलाई लक्षित गरि पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा ठुला सवारी साधन चलाउन रोक लगाएको छ । विभागले सुचना प्रकाशित गर्दै असोज १२ देखि १८ गते सम्म पृथ्वी राजमार्गमा ठुला सवारी साधन चलाउनमा रोक लगाएको हो ।
अत्यावश्यक सामाग्री, औषधी, तरकारी, मासुजन्य बस्तुुहरु बोकेका सवारी साधनबाहेक अन्य सम्पुर्ण १० चक्के तथा सोभन्दा माथिका ठुला सवारी साधनहरु चलाउन रोक लगाएको हो । काठमाडौँ भित्रिने त्यस्ता ठुला सवारी साधनहरु चितवनबाट यता आउन नपाउने सुचनामा उल्लेख गरिएको छ । त्यस्तै काठमाडौँ बाट पनि ठुला मालबाहक सवारी साधनहरु उक्त रुट प्रयोग गरि बाहिरिन नपाउने जनाएको छ ।
ठुला सवारी साधनहरुको कारण नागढुंगा नौविसे सडकखण्डमा लामो जाम हुने हुँदा दशैँको समयमा यात्रुको सहज यात्राको सुनिश्चित गर्नका लागि विभागले ठुला सवारी साधन चलाउन रोक लगाएको हो । त्यस्ता सवारी साधन सडकमै बिग्रँदा दशैँमा घर हिँडेका यात्रुहरु मारमा पर्ने भन्दै विभागले यस्तो निर्णय गरेको हो ।
हरेक बर्ष दशैँमा ट्राफिक विभागले पृथ्वी राजमार्गमा केही दिनका लागि ठुला सवारी साधनहरु चल्न रोक लगाउँदै आएको छ ।