चितवन, असोज ११ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिएका छन् । शनिबार चितवनको ग्लोबल होटल परिसरमा शाही रक्ताम्य हुनेगरि कुटिएका हुन् ।
जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दान बहादुर मल्लका अनुसार शाही स्थानियहरु बाटै कुटिएका हुन् । दियोपोस्टसँगको कुराकानीमा स्थानीय प्रशासन, नेता र आफुलाई रिस उठेको जति सबैलाई शाहीले गालीगलौज गर्ने र मनलाग्दी बोल्दै हिँडेकै कारणले आक्रोशित जनताले उनिमाथि आक्रमण गरेको बताएका छन् । ‘उहाँ जसलाई जे मन लाग्यो त्यही भन्दै हिँड्नु हुन्छ, प्रहरी प्रशासनलाई पनि नराम्ररी गाली गर्नुहुन्छ, एसएसपी मल्लले भने, ‘जनताले कहाँ सहन सक्छन् र १ झनै चितवनका जनता परे ।’
एसएसपी मल्लका अनुसार ज्ञानेन्द्र शाही लगायतका समुहले शनिबार कार्यक्रम गर्ने जानकारी गराएको थियो । लगत्तै सो कार्यक्रम हुन दिन्न भन्दै अर्को समुह पनि प्रशासनमा जानकारी गराउन आएको थियो । शनिबार दिउँसो ज्ञानेन्द्र शाही समुहको कार्यक्रम हुनै लाग्दा अर्को समुह पनि सोही कार्यक्रम स्थलमा आइपुगेपछि प्रहरीले कार्यक्रम स्थगित गराएको थियो ।
कार्यक्रम नभएपछि ज्ञानेन्द्र शाही ग्लोबल होटलमा गएर बसेका थिए । एसएसपी मल्लका अनुसार ज्ञानेन्द्र र स्थानीयको सोही होटलमै मुठभेड भएको थियो । मुठभेडमा ज्ञानेन्द्रको खुट्टा, टाउको र छातीमा चोट लागेको उनले बताए ।
‘मुठभेड भएको र कोही ब्यक्ति घाइते भएको खबर पाएपछि हामी गएका हौँ’ एसएसपी मल्लले, ‘उनलाई उद्धार गरेर अस्पताल भर्ना गरेका छौँ’ । ज्ञानेन्द्र शाहीका समर्थकहरुले उनिमाथि नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका कार्यकर्ताहरुले आक्रमण गरेको बताएका छन् । एसएसपी मल्लले भने कुनैपनि संगठनबाट शाहीमाथि आक्रमण नभई स्थानीयहरुले नै उनको अभिव्यक्तिको प्रतिकार गर्दै आक्रमण गरेको बताए ।