धादिङ, असोज १२ । धादिङको निलकण्ठ नगरपालिका–१३ करौजामा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिकास्थित केरुञ्जागाउँबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिएका छन् । दुर्घटना विहान करिब ८ः३० बजेको समयमा भएको हो । दुर्घटनामा घाइते भएकामध्य तीन जनाको स्थिति गम्भिर रहेको छ ।
घाइतेहरु सबैलाई जिल्ला अस्पताल धादिङ ल्याइँदै छ । घाइतेहरुमा नेत्रावती गाउपालिका–५ का ५८ बर्षीय दल बहादुर तामाङ, ६९ बर्षीया हस्त कुमारी तामाङ तामाङ, ४५ बर्षीय चेन्डे दमाई, २० बर्षीया लक्ष्मी गुरुङ र ६० बर्षीया शान्तामाया गुरुङ रहेका छन् ।