आयल निगममा चोरको बिगबिगी : महँगा कम्प्युटर र ल्यापटप गायब बनाउने व्यक्ति डिपो प्रमुख !

दियो पोस्ट  

काठमाडौं, २८ भदौ । नेपाल आयल निगमले खरिद गरेको महँगा कम्प्युटर, ल्याप्टप र प्रिन्टर नै गायब बनाइएको पाइएको छ । निगमका उच्च तहकै कर्मचारीहरु लज्जास्पद रुपमा यस्ता सामग्री चोरी गर्दै घर लैजाने र गायब बनाउने गतिविधिमा समलग्न भएको पाइएको हो ।


आयल निगम भित्र निगमको स्वामित्वको लाखौँ रुपैयाँको महँगा कम्प्युटर, ल्याप्टप चोरी गर्ने व्यक्ति सामान्य कर्मचारी होइनन् । हाल भैरहवामा डिपो प्रमुख अर्थात प्रदेश नम्बर ५ को प्रमुखकको रुपमा कार्यरत प्रलङ्कर आचार्य हुन् ।

निगमले खरिद गरेको एप्पल कम्पनिको ४८ इन्चको डेस्कटप कम्प्युटर नै आचार्यले गायब बनाएको खुुलेको छ । करिब १० लाख रुपैयाँ पर्ने यो कम्प्युटर आचार्यले केही वर्षअघि नै गायब बनाएको निगम स्रोतले दियोपोस्टलाई उपलब्ध गराएको प्रमाणबाट देखिन्छ ।


चाबेलमा कम्प्युटर व्यावसाय समेत गर्दै आएका उनले ती कम्प्युटर ग्राहकलाई बेचेको अनुमान समेत निगम भित्र हुने गरेको छ ।

त्यस्तै निगमका महँगा ल्यापटप समेत आचार्यले गायब बनाउने गरेको तथ्य भेटिएको छ । बजारमा २ लाख रुपैयाँ भन्दा बढी महँगा पर्ने आइफाइभ ८ सि नाइन ब्राण्डका विभिन्न ल्यापटप उनले गायब बनाएको पाइएको छ ।


आयल निगमको वितरण विभागमा कार्यरत रहँदा यस्ता महँगदा चारवटा ल्यापटप उनले गायब बनाएको स्रोतले जनाएको छ ।


ती ल्याप्टपहरु नियम अनुसार निगमलाई बुझाएर मात्रै खटाइएको स्थानमा जानुपर्ने भएपनि उनी गायब पारपछि मात्रै भैरहवा डिपोमा सरुवा भएको पाइएको छ ।

दियोपोस्टले प्राप्त गरेको रेकर्ड अनुसार उनले २०६४ साल पुस ३० गते निगमबाट २ थान ल्यापटप लिएका छन् । तर, ती ल्यापटप करिब १५ वर्ष पुग्न लाग्दा समेत फिर्ता गरेका छैनन् ।


त्यस्तै त्यसको एक वर्षपछि २०६५ साल भदौ २३ गते उनले निगमबाटै अर्का २ थान महँगा ब्राण्डका ल्याप्टप लिएर गएका थिए । तर, ती ल्यापटप पनि १२ वर्ष वित्न लाग्दा समेत फिर्ता गरेका छैनन् ।

त्यतिमात्रै होइन प्रशासनमा बस्दा क्याननको एमएफ २४१ एफ मोडलको प्रिन्टर समेत उनले हालसम्म गायब बनाएको तथ्य भेटिएको छ । ती सामग्री बनाउने आचार्यलाई निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने आकर्षक स्थानमा सरुवा दिँदै आएका छन् ।


‘यसरी निगम भित्र कर्मचारीको आवरणमा इन्धन गायब बनाउनेदेखि महँगदा सामग्री गायब बनाउने धेरै व्यक्ति छन्,’ निगम स्रोतले भन्यो,‘यहाँ कर्मचारीको आवरणमा चोरहरुको विगविगि छ । तर, कसैले कारबाही गर्ने आँट समेत गर्दैनन् ।’


कम्प्युटर, ल्यापटप र प्रिन्टर समेत गायब बनाउने निगमका भैरहवा डिपो प्रमुख आचार्यको प्रतिक्रियाका लागि उनको कार्यालयको नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

सम्बन्धित खबर

ट्रेन्डिङ