नेपाली नोटको इतिहास- सगरमाथा चढ्न जानेहरू पैसा बोक्न भरिया लिएर जान्थे !

दियो पोस्ट  

करिब ७ दशकअघि सर्वाेच्च शिखर आराेहणकाे प्रयास गर्न जानेले धातुका सिक्का (मुद्रा) नै लैजानुपर्दथ्याे । हिमाली भेगका बासिन्दाले कामकाे ज्याला र सामान खरिदबिक्री बापत कागजी नाेटमा काराेबार नै गर्दैनथे ।
तेञ्जिङ नाेर्गे र एडमण्ड हिलारीले पनि आफ्नाे आराेहण दलमा केही भरियाहरुलाई सिक्का बाेकाएरै लगेका थिए ।


सन् १९५३ मा सगरमाथा आरोहण दलका सामानहरू सगरमाथा क्षेत्रमा पुर्याउन बनेपा शहर नजिकै जम्मा भएका नेपाली भरियाहरू । 
नेपाली मुद्रा र कागजी नोट

नेपालमा सर्वप्रथम मुद्राको प्रचलन लिच्छवीकालिन राजा मानदेवबाट भएको थियो । उनले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो । उनी पछिका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए । जसले वस्तु विनिमयलाई सहज बनायो । त्यतिबेला माटोका तथा छालाबाट पनि मुद्रा बनाइन्थ्यो । तर पछि यसमा सुधार आउन थालेको इतिहास छ । मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याए । जसलाई महिन्द्र मल्ली भनिन्थ्यो । नेपालमा कागजी नोटको शुरु भने निकै पछि मात्र भएको थियो । वि.सं. २००२ मा यसको शुरुवात भयो ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबरा हुन् । तर नेपालको पहिलो कागजी नोटमा उनको हस्ताक्षर छैन् ।

पहिलो गभर्नर हिमालय शमशेर राणा, फोटो : नेपाल-पाकिस्तान फ्रेण्डसिप एण्ड कल्चरल एसोसिएसन

पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन् । उनी नेपाल सरकार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्काशन भएको पाइन्छ ।

नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्काशन भयो । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु चल्थ्यो । नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाई २०१७ साल बैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो ।

वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्काशन भयो । २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो । विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.सं. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था भएको हो । नेपाल राष्ट्र बैंक मार्फत छापिएका कागजी नोटहरू वि.सं. २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।

कुन नोटमा कसको हस्ताक्षर ?

राष्ट्र बैंकको रेकर्डअनुसार २०२६ सालमा पहिलो पटक एक हजार रुपैयाँको नोट निष्कासन भयो भने २०२८ मा पाँच सय रुपैयाँको नोट निष्कासन भएको थियो । हजार र पाँच सयको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर यादवप्रसाद पन्त हुन् । २०३९ सालबाट निष्कासन सुरू भएको २० को नोटमा पहिलो हस्ताक्षर कल्याणविक्रम अधिकारी भएको देखिन्छ । 

फोटो स्रोत : साप्तहिक

२०३४ सालमा निष्कासन सुरू भएको ५० रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर कुलशेखर शर्मा थिए । २०३८ सालबाट प्रचलनमा ल्याइएको दुई रुपैयाँको नोटमा पहिलो हस्ताक्षर कल्याणविक्रम अधिकारी गभर्नर थिए । २०५२ सालमा नेपालमा दुई सय ५० को नोट पनि निष्कासन भएको थियो । २५० र २५ रुपैयाँ दरको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ थिए । 

२०६३ असोज ६ मा नेपाल सरकार लेखिएको पहिलो पाँच रुपैयाँको नोट निष्कासन भएको थियो । जुन नोटमा पहिलो हस्ताक्षर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले गरेका थिए ।

नोटमा किन गभर्नरको हस्ताक्षर ? 

नोटमा किन चाहिन्छ गभर्नरको हस्ताक्षर ? नेपाल राष्ट्र बैंकमा पूर्वमुद्रा विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘सरकारको ट्रेजरले गरेको प्रतिबद्धताका लागि नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, हस्ताक्षर माथि लेखिएको हुन्छ- जमानत प्राप्त यस रुपैयाँ भुक्तानी नेपाल राष्ट्र बैंकबाट तुरून्त पाइनेछ,’ निरौला भन्छन्, ‘पैसाको सुरक्षण छ भन्ने प्रतिबद्धताका लागि गभर्नरको हस्ताक्षर चाहिन्छ । संसारभरका नोटमा गभर्नरको हस्ताक्षर हुन्छ ।’ सरकारले गरेको सुरक्षण रकमको साक्षी भएको नाताले गर्भनरले हस्ताक्षर गर्ने गर्छ । 

(सन्दर्भ सामग्री: ओल्ड फोटोज अफ नेपाल, सरदार भीम बहादुर पाँडे
त्यसबखतको नेपाल लगायत)

सम्बन्धित खबर