नारायणघाट पुलमा पानीको सतह अहिलेसम्मकै उच्च, सतर्कता अपनाउन आग्रह

दियो पोस्ट  

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजे फेरि खतराको तह पार गरेको हो।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९.०८ मिटर पुगेको छ। यो क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।

त्यस्तै नारायणी नदी पुल क्षेत्रमा पानीको सतह अहिलेसम्मकै धेरै १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह संकेत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे।

भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरू बाढीको जोखिममा छन्। राप्ती र नारायणी दुवै नदीको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्बर वडामा बढी जोखिम छ।

वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरूमा जोखिम छ। यस्तै वडा नम्बर २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्ती पनि जोखिममा छन्।

रासस

सम्बन्धित खबर