भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।
यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त विद्युतगृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युतगृह तत्कालीन द्वन्द्वमा बिग्रिएपछि लामो समय भोजपुर अन्धकारमय बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचे अनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो ।
जलविद्युत् आयोजना संरक्षण विहीन
संरक्षणको अभावमा जीर्ण बनेको सिक्तेलखोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का सामग्री कवाडीमा परिणत भएका छन् ।
तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युतगृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युतगृह अलपत्र बनेको हो ।
जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा दुई सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युतगृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् । विद्युतगृह विसं २०३८ बाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युतगृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कवाडीमा परिणत भएका छन् ।
यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारीको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युतगृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।