
पोखरा । देशमा विद्यमान जातीय विभेद र छुवाछुतको अन्त्य गर्ने उदेश्यसहित स्वतन्त्र दलित एकता अभियानद्धारा प्रदेश स्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रम कास्कीको लुम्लेमा सम्पन्न भएको छ । जातीय विभेदको जड नै जात व्यवस्था भएका कारण त्यसको उन्मुलन नभएसम्म जातीय विभेद अन्त्य नहुने र त्यसका विरुद्ध देशव्यापी आन्दोलन गर्नु पर्ने निश्कर्ष सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दक्षिण अफ्रिकाका लागि पूर्व नेपाली राजदूत डाक्टर निर्मल बिश्वकर्माले ‘दलित मुक्तिको प्रश्न, सहकार्य र संघर्षको सिद्धान्त’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा डाक्टर बिश्वकर्माले आफ्नो अधिकार प्राप्तीको लडाइँमा सम्पूर्ण शोषित पीडितहरु एकजुट हुन आग्रह गरे ।
गणतान्त्रिक मुलुकमा समेत विभेदका घटना देशव्यापी बढिरहेका र दलितहरु मान्छे भएर बाँच्न नपाएको प्रसंग उल्लेख गर्दै उनले कानुन कार्यान्वयनका लागि राज्यलाई दबाव दिनुपर्ने बताए । छुवाछुत अन्त्यका लागि सम्पूर्ण दलित समुदाय एक भएर प्रतिरोधी क्षमता बढाउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पत्रकार तथा समाजिक अभियन्ता रीता बुढाथोकीले ‘सामाजिक न्यायमा दलित महिला’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेकी छिन् । कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बुढाथोकीले कुल जनसंख्याको ७ प्रतिशत ओगट्ने दलित महिलाहरु अहिले पनि राज्यबाट तेहोरो विभेद र बञ्चितिकरणमा परेको बताइन् । सो अवसरमा उनले अन्य सुमदायका महिलाको तुलनामा दलित महिलामाथि बलात्कारका घटना बढी हुने, स्वास्थ्य र शिक्षाबाट बञ्चित हुनु परेको प्रसंग उल्लेख गर्दै यसका लागि राज्यले ठोस पहल गर्नु पर्ने उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र दलित एकता अभियान गण्डकी प्रदेश संयोजक लाल बहादुर बिश्वकर्माले जातीय विभेद अन्त्यको सुरुवात गण्डकी प्रदेशबाट थालनी गरिने बताए । जातीय विभेद अन्त्यका लागि कुनै पनि राजनीतिक पार्टीका एजेण्डाले नछोएको भन्दै दलितहरु आफ्नो मुक्तिका लागि पार्टीभन्दा माथि उठ्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सामाजिक अभियन्ता रणबहादुर बिश्वकर्माले जातीय विभेद अन्त्यको लक्ष्यमा पुग्न एकताबद्ध हुनु पर्ने धारणा ब्यक्त गरे । उनले आ–आफ्नो क्षेत्रबाट यसका विरुद्ध आजाव उठाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बाग्लुङ्गका प्रतिनिधि तथा दलित मुक्ति अभियन्ता अशोक बिश्वकर्माले सात वटै प्रदेशमा दलित एकता अभियान नामक संगठन बिस्तार गर्नुमा जोड दिए । दलितहरुको शक्ति निर्माण गरेर अधिकार प्राप्तीको लडाइँमा होमिनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा जातीय विभेदको अन्त्य, धर्म, दलित शब्द बारे बहस, आरक्षण र पूर्ण समानुपातिक बारे अवधारणा,.निर्वाचन प्रणली, भुमिसुधार र बसोबास र राजनीतिक शक्ति निर्माणको सम्भावना बारे व्यापक छलफल भएको थियो ।
कार्यक्रममा जनार्दन नेपाली, सोम बहादुर नेपाली, मोहन सुनार, मनोज बिके भावुक, राजु बिश्वकर्मा, लाल घतानी लगायतले जातीय विभेद विरुद्ध एक भएर लाग्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका दलित समुदायका सहभागीको उपस्थिति रहेको थियो ।
