
काठमाडौं । हिन्दूहरुको आस्थको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार पशुपति क्षेत्रका विकास कोषका सचिव मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोग तत्कालीन कोषका कोषाध्यक्षसमेत रहेका हादका सदस्य सचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध जनही १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो असुल हुनुपर्ने मागदाबी गरको छ । नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन र जलहरीमा प्रयोग भएको सुनबीच १५ सय ६५ ग्राम कम देखिएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयबाट ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्र बैकसँग १ सय ३ किलो ७ सय ७३ दशमलव १ ग्राम सुन किनेको थियो । तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
तर, जलहरी निर्माणमा १ सय १ किलो ४८ दशमलव ५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १ सय ३ किलो ७ सय ७३ दशमलव १ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १ सय १ किलो ४८ दशमलवज ५ ग्राम सुन सुन घटाउँदा १ किलो ५ सय ६५ दशमलव ६ ग्राम सुनको फरक देखिएको थियो ।
राष्ट्रले प्रचलनमा ल्याएको जर्ती मापदण्डअनुसार शून्य दशमलव शून्य ७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४ सय ९१ दशमलव ७ सय १८ ग्राम सुन हिनामिना भएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए ।
आजको राजधानी पत्रिकामा खबर छ ।