काठमाडौं । लोक गायिका कालिका रोक्काले भनेको जस्तो भएको छ । मकवानपुर हेटौंडाकी कविता तामाङलाई । घर परिवारलाई सुख सुविधामा राख्ने सपना बोकेर एक वर्षअघि कुवेत पुगेकी उनलाई अहिले मर्नु र बाँच्नु अवस्था आइलागेको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधा दिने सपना साँचेर धेरै नेपाली विदेशिएका छन् । यस्तै मध्येकी एक हुन उनी पनि ।
गैर कानुनी बाटो हुँदै घरेलु कामदारका रुपमा त्यँहा पुगेकी तामाङ अहिले २४ सै घण्टा काम गर्नुपर्दा अब परिवारको मुख देख्न पाउँदिन कि भन्ने चिन्तामा छिन् । अनु नाम गरेकी एजेन्टमार्फत त्यहाँ पुगेकी उनी अहिले दिनको मालिकको तनावले विक्षिप्त छिन् ।
‘यहाँ मलाई साहुले गालि गर्छ, थकाउँछ, कुट्छ मलाई मारेर मेरो शव नेपाल पठाउदिन्छु भन्छ, कहिले तँलाई जेल हालिदिन्छु भन्छ,’ कविताले रुँदै भनिन् ‘अब म यँहा बस्दिनँ नेपाल जान्छुभन्दा तँलाई १ हजार कुवेती दिनारमा किनेको हो, पैसा दे जा भन्छ अब मसँग पैसा छैन के गर्ने कहाँबाट ल्याएर दिने ?’
आफू एक वर्षदेखि कुवेतमा रहेको र यस घरमा काम गरेको नौ महिना भयो भन्दै उनले हरेक दिन २२–२४ घण्टा काम गर्न पर्ने र बिरामी छु, सक्दिनँभन्दा पनि जबर्जस्ती काममा लगाउने गरेको बताइन् ।
उनले भनिन् ‘न खाना खाने नै समय दिन्छ ५ मिनेट जति आरा गर्न गयो भने आइज आइज भनि हाल्छ ।’
‘यहाँ बिरामी हुँदा पनि औषधी उपचार पाइँदैन, पठाउने एजेन्टलाई नेपालमा सम्पर्क गर्दा सम्पर्क नै हुँदैन, मलाई पठाउने एजेन्ट पनि ओमानमा छ रे भन्ने सुनेको छु, पुरानो नम्बर सम्पर्क हुँदैन, मलाई यहाँबाट चाँडो उद्धार गर्नुहोस्,’ उनले थपिन् ‘भागेर कुबेर स्थित नेपाली दूतावास जाऊँ भन्दा पनि दूतावासको मान्छेले हेदैन भन्छन् । जसोतसो भागेर त दूतावास गइएला फेरि मालिकले केस हालिदियो भने पनि झन् समस्या हुन्छ, नत्र त भागेर भए पनि जान्थें, घरमालिक कुवेतको प्रहरी हो । मलाई सबै जना मिलेर यो घरबाट निकालेर नेपाल फर्काउन मद्दत गर्नुहोस् ।’
उनले आफू सो घरमा काम गर्न नसक्ने भनेर पटकपटक कुवेतमा नै रहेको नेपाली एजेन्टलाई सम्पर्क गर्दा पनि फोन नउठाउने गरेको र त्यसपछि नेपालमा रहेका श्रीमानलाई नम्बर दिएको बताइन् । ‘नेपालबाट सम्पर्क गर्दा पनि एजेन्टले उठाएन रे, त्यसैले त अहिले मानसिक रुपमा निकै विक्षिप्त बनेको छु,’ उनले भनिन् ।
उनले आफूलाई सो घरबाट तत्काल उद्धार गरेर नेपाल फर्काउन पहल गर्न कुवेतमा क्रियाशील विभिन्न सघसंस्था तथा विभिन्न सामजिक अभियन्तालाई अपिल गरेकी छिन् ।
मुख्यगरी, घरेलु महिलाको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ । कतिपय नेपालीले कुवेतमा नै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपता हुने नेपाली धेरै छन् ।
कतिपय नेपालीलाई कुवेतमा ल्याएर साउदी अरब पठाइदिने गरेको पनि उनीहरुको अवस्था पत्तो नलाग्ने गरेको छ । हाल उद्धारका लागि हारगुहार गरिरहेकी तामाङलाई १ हजार केडीमा कुवेती नागरिकको घरमा बेचिएको हो ।
कुवेतमा नेपाली महिलालाई कानुनी रुपमा किनबेच हुने गरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट मालिकले दुई वर्षका लागि हाउसमेडलाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्य समय निश्यित हुँदैन ।
त्यसो त कुवेतमा बिदा र तलबका साथै समयमै घर आउन नपाउने समस्या छ । घरेलु कामदारको मुद्दा आफूसँग ५ सयमाथि रहेको विनोद कँुवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएन) कुवेतका अध्यक्ष धिरेन सुवेदी बताउँछन् । उद्धारका लागि भन्दै दैनिक १०–१५ जनाको फोन आउने गरेको उनको भनाइ छ ।
आजको राजधानी पत्रिकामा खबर छ ।