भन्सार छली ल्याएको करिब ८० लाख बराबरको लत्ताकपडा बरामद

दियो पोस्ट  

सिरहा । सिरहाको सिरहा नगरपालिका–१८ स्थित तारापट्टिबाट आज मङ्गलबार सशस्त्र प्रहरीले करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याई स्थानीय वासिको ३ वटा गाई गोठको टहरामा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।

उक्त लत्ताकपडा कहिले र के प्रयोजनकोa लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको हो ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।