यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादाको पोशाकको पहिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी पहिचालन गर्न लागिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले विशेषगरी रार्जमागमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी भने ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्त्वपूर्ण र संवेदनशील मानिएका राजर्मागका चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा तत्काल घटनास्थलमा पुग्नेगरी प्रहरी परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं ।

उनले चाडवाडमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताको आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए । आंकलन गर्दै पृश्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा सुख्खा पहिरो जानसक्ने सम्भावनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।

सम्भावित घटनालाई रोक्न सडक विभाग, ट्राफिक प्रहरी सडक आयोजना प्रमुख लगायतसँग छलफल गरी मुग्लिन सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रुपमा आवत जावत गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

यसैगरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइने भएको छ । प्रत्येक बसमा सादा र बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्न व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । राजधानीबाट टिकट लिने यात्रुको लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी सेवा दिन सुरु गरेको छ ।

टिकटमा कालो बजारी गर्ने, दास्रो व्यक्तिले टिकट बिक्रि गरेर यात्रु ठग्ने कामलाई निरुत्साहित गर्न प्रहरीले बसपार्क र अन्य स्थानमा विशेष गस्ती सुरु गरेको छ । प्रहरीले प्रत्येक बस पार्कमा प्रहरी बिट स्थापना गरेको जानकारी दिँदै प्रवक्ता डीआईजी कडायतले भने– ‘यात्रुलाई हैरान नहोस् भनेर यो वर्ष विशेष सुरक्षा व्यवस्था गरेका छौं ।’ यात्रुको सहज यात्राको लागि राजधानीबाट बाहिरिने स्थानमा चेकपोस्ट स्थापना गर्नुका साथै उपत्यका छिर्ने नाकामा विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

दशैं तिहारमा सुरक्षा योजना अन्तरर्गत उपत्यकामा करिब १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले करिब ११ हजार नेपाल प्रहरी र बाँकी सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी १२ हजार सुरक्षाकर्मी परिचालित हुने जानाएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले चाडवाडमा एकीकृत सुरक्षा योजना बनाएर नियमित ११ र अन्य गरी १२ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।

आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।