साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दियो पोस्ट  

काठमाडौं । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियास्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए ।

गैर आवासीय नेपालीसघं (एनआरएन) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भुमिका विषयक अन्तक्रिया कार्र्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले फैसला भएर दूतावासमा जानकारी आएको बताए ।

मृत्युदण्डको फैसला सुनाएका नेपालीहरु कुन अपराधमा दोषी देखिएको र उनीहरुको नाम के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए ।

उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्रि गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपोसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् ।

दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरु जेल पर्ने गरेको पाइएको उनले बताए । कतिपय साउदी पुगेका ६ महिनामै अरुको लहलहैमा लागेर जेल पर्ने गरेको पाइएको छ । साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुनबारे थाहा नहुँदा पनि वैदेशिक वरोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपोसारलाई ठुलो अपराध मानिन्छ ।

बिक्री वितरणको मात्राको आधारमा ६ महिना देखि वर्षैवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यँहा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । पक्राउ परेका केहीले साउदी प्रहरीलाई नै घुस खुवाउन खोजेको पाइएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी कार्कीको भनाइ छ । गतवर्ष दूतावासमार्फत ५ हजार ६ सय नेपालीलाई उद्धार गरी नेपाली फर्काइएको उनले बताए ।

डिपोटेसनमार्फत ५ हजार नेपालीलाई साउदीबाट डिपोर्ट गरिएको छ भने घरेलु कामदारका रुपमा कुवेत हुँदै साउदी पुगेका ३१ महिलालाई पनि उद्धार गरी स्वदेश फर्काइरहेको छ ।

आजको राजधानी पत्रिकामा खबर छ ।